अनुराग अरुण, ललितपुर
अमेरिकाबाट एकैचोटी सातवटा साँढे ल्याएपछि, रैथाने साँढेहरुलाई डाहाले खपी नसक्नु भएछ । इर्ष्याले भित्र मूटू भत्भती पोल्न थाल्छ । भएभरका सबै साँढेहरु भेला भएर नन्दी कहाँ गएर विन्ती बिसाउन जान्छन्, ‘हे नन्देश्वर ! अब हाम्रो वंश नरहने भो ।’
कुरा सुनेर नन्दीले सोध्छ, ‘के भो ?’
‘अमेरिकाबाट उन्नत जातको बडेमानको साँढे ल्याएको, हजुरलाई था छ कि छैन् ?’
अचम्म मानेर सोध्छ, ‘मलाई त थाहै छैन् । कहिले ल्याका हुन ?’
‘एक मैना जति भाको होला । राजकीय सम्मानका साथ धुमधामले पिलेनमा राखेर लेरआका छ्न् । हामी यैं भाका रैथानेलाई बेइजत र हेला । हम्लाई क्यै न क्यै । कति पो सहनु ?’ दुखित भएर यौटा साँढेले भन्छ ।
– ‘यो त अन्याय भो !’
‘ हे वाहनेश्वर ! अन्याय मात्र हो र ? भोलि गाईहरुले पनि हामलाई वास्तै गर्दैनन् । खच्चरको जस्तो हाम्रो दुर्गति हुनेछ । हाम्रो वंश नामेट सखाप भएर जान्छ ।’
कुरा सुनेर नन्दी निकैबेर घोत्लिएर सोंचमग्न हुन्छ । अनि साँढेहरुलाई सोध्छ, ‘अब के गर्ने ?’
‘नन्देश्वर ! हाम्रो इज्जत भ्यालु न हिजो थियो, न आज छ । खान पनि कहिले गतिलो पाराले सुख चैनका साथ खान पाइएन । जता चर्न गयो, मान्छेले लौरोले हान्दै तुच्छ वचनले गाली गर्दै धपाउछन् । बरु हजुरलाई पूजा गर्छ । मीठो मसिनो खान दिन्छ । भोलि महादेवले हजुरलाई वाहनबाट हटाएर त्यसैलाई राख्न बेर छैन । त्यसैले गम्भीरपूर्वक सोंच विचार गर्नुहोस् ।’
उस्को कुरा सुनेर नन्दी इन्तुचिन्तु हुन्छ । कतै महादेवले धपाई दिनेहुन कि भन्ने पिरले सताउन थाल्छ । ‘भोलि पशुपतिनाथ प्रभुसंग विन्ती बिसाउँछु । आज तपाईहरु आ–आफ्नो घर जानुहोस् ।’
‘हे नन्देश्वर ! हजुर पो ! पशुपती, मठ र मन्दिरमा विराजमान हुनुहुन्छ । हाम्रो के को घर ? यौटा गाई थियो । हाम्लाई माया गर्ने । अब उस्ले नि टेर पुच्छर नलाउने भो । छिट्टै यो समस्याको समाधान गर्नुहोला । नत्र भने हामी न घरका न घाटका हुनेछौं । एकदिन जम्मै रैथाने साँढेहरु लोप भएर, इतिहास बन्नेछन् । नमन वाहनेश्वर ! हामी विदा भयौं ।’ भन्दै सबै साँढेहरु आ–आफ्नो गन्तव्य लाग्छन् ।
वि.सं.२०७८ चैत १९ शनिवार ०७:५९ मा प्रकाशित






























