प्रकाश दहाल ‘यात्री’
दोलखा, हाल -काठमाडौं
१.
सहरका चिल्ला सडकले, यता गाउँको बाटो बिर्सियो
गमलामा घिरौंला फलायो अनि आफ्नै माटो बिर्सियो
महोदय ! हामीले अरुको नक्कल देखासिकी गर्दागर्दै,
आफ्नै मौलिक कला,संस्कृति र संस्कारको पाटो बिर्सियो ।
२
अविश्वासलाई विश्वासले कसिरहन मन लाग्छ
झरना जस्तै पहाडबाट खसिरहन मन लाग्छ
मिल्दैन कुर्नु बेकार हो, मलाई थाहा हुँदा पनि,
फेरि पनि पर्खेर उसकै लागि बसिरहन मन लाग्छ ।
३
पुग्यो, न कसैसँग बोल्ने रहर छ
मनमा नदेखिने अदृश्य कहर छ
बाँच्न त म बाँचेकै छु जसोतसो,
शरीर ज्युँदो छ, तर भित्र जहर छ ।
४
हे कवि ! लगाउ पासो कलमले जिन्दगी चल्दैन
महोदय ! पीडाले जस्तो भत्भती आगोले जल्दैन
नचल्ने यो जिन्दगी जसोतसो चलाउनु छ परेको,
जिउँदो लास हो जिन्दगी मात्र चित्तामा बल्दैन ।
५
खुसीहरु सबै सकिगयो, दुःख आए पछि
एकजोर जुत्ता थियो त्यो पनि फटाए पछि
प्रिया ! अब आँसु सिवा के नै बाँकी रह्यो,
तिमीले पनि छोडी गयौं स्वार्थले अघाए पछि ।
वि.सं.२०७८ चैत १९ शनिवार ०७:५८ मा प्रकाशित






























