जाग्रेब । क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरुलाई तत्काल देश छाड्न आदेश दिएको छ ।
रुसले छिमेकी मुलुक युक्रेनमाथी आक्रमण गरेको र विश्वका धेरै देशहरुले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरुलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरुलाई देश निकाला गर्दै आएका छन् ।
रुसी अधिकारीहरुले आफ्नो देशमा रहेर कुटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरुलाई देश निकाला गर्नु परेको ती देशका अधिकारीहरुले जनाएका छन् । क्रोएसियाले देश छाड्न आदेश दिएका २४ रुसी अधिकारीहरु मध्ये १८ जना रुसी कुटनीतिज्ञ रहेका छन् भने बाँकी छ जना कर्मचारी रहेका छन् ।
युक्रेनमाथी युद्ध अपराध नगर्न आग्रह गर्दै आएकोमा रुसले आफुलाई नसुधारेको क्रोएसियाका अधिकारीहरुको भनाई छ । रुसले गत फेब्रअरी २४ देखि युक्रेनमाथी आक्रमण गरिरहेको छ भने आक्रमणका कारण ठूलो मानवीय तथा भौतीक क्षती भएको छ । साथै विश्व अर्थतन्त्र र राजनीतिमा समेत यसले नकारात्मक असर परेको छ । एएफपी
वि.सं.२०७८ चैत २९ मंगलवार ०८:१२ मा प्रकाशित






























