इस्लामावाद । पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित हुनुभएको छ । पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग -नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको घोषणा गरिएको छ ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो । पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरुले पद त्यागको घोषणा गरेपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो ।
संसदका ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिए । विपक्षी दलको नेतृत्व गर्दै आएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जावको मुख्यमन्त्री बनेका थिए । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने भएका छन् ।
विश्व चर्चित क्रिकेट खेलाडी खानको नेतृत्वमा सरकार बन्दा संसारभरी नै सकारात्क सन्देश गएपनि कार्यकाल भने ठोस उपलब्धी विना सकिएको छ । सुरुमा निकै लोकप्रिय निर्णय गरेका खानले दलीय व्यवस्थापन र प्रभावकारी राज्य सञ्चालन गर्न नसक्दा संसद्को कार्यकाल बाँकी रहँदा नै प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरीनु परेको छ ।
१५५ सांसदद्धारा राजीनामा
त्यसैगरी पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सबै सांसदहरुले राजीनामा दिएका हुन । नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडी उनीहरुले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिस्कार गरेका छन् ।
जनताको भावना विपरित विदेशीहरुको इसारामा आफुलाई हटाइएको भन्दै खानले आफुहरु अव संसद्मा बस्न नसक्ने बताएका हुन् । विदेशीको इसारामा चल्ने राष्ट्रघाती सांसद्हरु र राष्ट्रवादी आफ्नो पार्टीका सांसद्हरु संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उनको भनाई छ ।
उन अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन् ।
आफुले विघटन गरेको संसद्लाई अदालतले व्युताइदिएपछि थप नैतिक संकटमा परेका नेता खानले विघटन गरेको संसदमा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताइएको छ ।
उनको पार्टीका सबै सांसदहरुले राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
उनले चाडै नै नयाँ मन्त्रीमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक सङ्कटसँगै आर्थिक सङ्कट पनि सामना गर्नुपर्ने अवस्था रहेको छ । एएफपी
वि.सं.२०७८ चैत २९ मंगलवार ०८:१९ मा प्रकाशित






























