काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि प्रचार प्रसार अभियान तिब्र बनाएको छ ।
मंगलबार पार्टीको प्रचार विभागको विस्तारित बैठक बसेको नेकपा माओवादी केन्द्रले बुधबार चुनावी प्रचारका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङको तस्बिरसहितको फोटो सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नामबाट चलाईएको उक्त फेसबुक पेजमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र प्राधिकरणका निर्देशक कुलमान घिसीङको तस्बिर राखेर ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको भन्ने नारा राखिएको छ । सोहि फोटोको बिचमा लेखिएको छ– ‘अँध्यारोबाट उज्यालोको यात्रा’ ।
शेर बहादुर देउवाको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धनको सरकारले कुलमान घिसीङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
माओवादी केन्द्रले चुनाव प्रचार–प्रसारका लागि कुलमानको तस्बिर राखेकोमा सामाजिक संजालमा आलोचना समेत भइरहेको छ ।
सोहि फोटोमा कमेन्ट गर्दैै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाका प्रेस सल्लाहकार अशोक पौडेलले लेखेका छन्–एउटा पार्टीले विद्युत प्राधिकरणका कर्मचारी कुलमान घिसिङकै फोटो बेच्नुपर्ने दिन आएको हो ?’
वि.सं.२०७८ चैत ३० बुधवार १०:२० मा प्रकाशित






























