काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले मनोनयनको मिति नजिकिँदै गर्दा पनि उम्मेदवार तय गर्न सकेको छैन । दलहरुबीच कुन स्थानीय तहमा कसको उम्मेदवार हुने भन्ने विषय थप पेचिलोपूर्णं बन्दै गएको छ । गठबन्धनभित्र विवाद बढ्दै जाँदा कांग्रेसको ठूलो तप्काभित्र गठबन्धन भंग हुने त होइन भन्ने चिन्ता पनि देखिन थालेको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सार्वजनिक रुपमै दिएको अभिव्यक्तिले पनि गठबन्धनभित्र समस्या थप गम्भीर भइरहेको संकेत गर्दछ । उनले गठबन्धन भंग भएमा ०७४ को अवस्था दोहोरिने भन्दै सार्वजनिक रुपमै चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले भनेका थिए, “हामीले गठबन्धन टुटाउने हो भने कम्युनिष्टहरु एमालेसँग मिले भने हाम्रो के अवस्था होला ? पहिला (२०७४)को जस्तै होला । अहिले एकलौटी रुपमा बहुमत आउने सम्भावना कसैको छैन् ।”
देउवाले साझेदार दलहरुलाई चित्त बुझाएर सहकार्य गर्नुपर्ने खाँचो औंल्याएका थिए । गठबन्धन बचाउनुको विकल्प नभएको देउवाको भनाई छ । “कांग्रेस ठूलो पार्टी छ, तपाईँहरुले नै धेरै सिट लिनुस्, हामीलाई पनि केही सिट दिनुस् भनेका छन्”, देउवाले भनेका छन्, “उनीहरूलाई पनि सम्मानजनक स्थान दिनुपर्छ। एकोहोरो कुरा गरेर हुन्न । गठबन्धन बचाउनै पर्छ ।”
समस्या कांग्रेसभन्दा एकीकृत समाजवादीमा
अहिले सत्ता गठबन्धनका दलहरुबीच पोखरा र काठमाडौं बाहेकका महानगरमा करिब–करिब सहमति छ । काठमाडौं र पोखरामा कांग्रेससँगै एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ । समाजवादीले काठमाडौं छाडेको खण्डमा पोखरा भने नछाड्ने अडान लिएको छ ।
यता, उपमहानगरको विषयमा पनि तुलसीपुर र इटहरी बाहेकमा करिब–करिब सहमति छ । एकीकृत समाजवादीले तत्कालिन एमालेकै हैसियतअनुसार हेटौंडासहित तुलसीपुर र इटहरीमा दाबी गरेको छ । समाजवादीले दाबी गरेको दुवैमा कांग्रेसको दाबी छ । तुलसीपुरमा माओवादीले पनि दाबी गरेको छ ।
कांग्रेसले भने यसअघिको निर्वाचनको नतिजाअनुसार समाजवादीलाई दिँदा हारिने आंकलन गरेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी एमालेकै स्तरमा अहिल्यै प्रभावशाली बनिनसकेको अवस्था र एमालेबाट विभाजित भएको छोटो समयमै स्थानीयतहको निर्वाचन घोषणा गरिएकोले कतिपय क्षेत्रमा उसको संगठन पनि राम्रोसँग विस्तार हुन सकेको छैन।
पोखराकै सन्दर्भमा एकीकृत समाजवादीको अवस्था निकै नगण्य देखिन्छ । एमालेको प्रभाव रहेको पोखरामा एकीकृत समाजवादीलाई अगाडि सार्दा निर्वाचन परिणाम अनुकुल नआउने अहिलेको अवस्थाले देखाउँछ । निकै फराकिलो अन्तरले एमालेले जितेको ठाउँमा एकीकृत समाजवादीलाई अगाडि सार्दा एमालेलाई नै जित्न सघाउ पु¥याउने निष्कर्ष स्थानीय नेताहरुको पनि देखिन्छ ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेल कांग्रेससँगै एकीकृत समाजवादीको एकोहोरो अडानले तालमेलको विषय पेचिलोपूर्णं बन्दै गएको बताउँछन् । “कांग्रेसभित्र तलदेखि नै अन्तरविरोध बढ्न थालेको छ, यहीबीचमा एकीकृत समाजवादीले एमालेको हैसियतअनुसार भागवण्डा खोजेको छ”, गजुरेलले भनेका छन्, “दुवैका अडानले विषय पेचिलो बन्दा जसपाभित्र अर्को विवाद देखिएको छ ।”
सम्बन्धित समाचार
यसकारण कमजोर बन्यो चुनावी तालमेलको सम्भावना
गठबन्धनभित्र बढ्दो किचलो : के भरतपुरमा तालमेलको सम्भावना सकिएकै हो ?
वि.सं.२०७९ वैशाख ६ मंगलवार १४:५४ मा प्रकाशित






























