काठमाडौं । भनिन्छ बिहानको सुरुवात राम्रो भयो भने दिनभर राम्रो बित्छ । दिनभर ताजा रहन र शरीरलाई स्वस्थ राख्न बिहानको खाना स्वस्थ्य हुनुपर्छ । धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन् तर, चिया वा कफीको बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । अध्ययनका अनुसार बिहान खाली पेटमा चिया र कफी पिउनाले एसिडिटी र पेटसम्बन्धी धेरै रोग लाग्न सक्छ । त्यसैले बिहान उठ्नेबित्तिकै चिया र कफी पिउनुको सट्टा ऊर्जाले भरिपूर्ण हुने र शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने केही यस्ता पेय पदार्थ सेवन गर्नुपर्छ ।
बिहानै पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुने यस्ता धेरै बिहानी पेय छन् । थप जान्नुहोस् दिनको सुरुवात गर्न बिहान चिया र कफीको सट्टा कुन पेय पदार्थ पिउनुपर्छ।

दूध
स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा चियाको सट्टा दूध पिउने बानी बसाल्नुहोस् । दूधलाई निकै पौष्टिक मानिन्छ । भिटामिन, क्याल्सियम पाइने दूधको नियमित सेवनले हड्डी र दाँत बलियो हुन्छ। बिहान दूध पिउनाले दिनभर ऊर्जावान रहन्छ। यस्तो अवस्थामा दैनिक बिहानको नास्तामा दूध पिउनुपर्छ ।

कागती पानी
गर्मीमा तपाईले जुनसुकै बेला कागती पानीको सेवन गर्न सक्नुहुन्छ जसले डिहाइड्रेसनको समस्या कम गर्छ तर, बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउनाले शरीरलाई बढी फाइदा हुन्छ । बिहान खाली पेटमा मनतातो कागती पानीले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ । तौल बढ्नबाट रोक्छ र दिन राम्रोसँग सुरु हुन्छ।

नरिवलको पानी
नरिवल पानी स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुन्छ । नरिवलको पानीलाई ऊर्जा पेय मानिन्छ। बिहान नरिवलको पानी पिउनाले दिनभर ऊर्जाको कमी महसुस हुँदैन। नरिवलको पानीमा चिनी र बोसोको मात्रा निकै कम हुन्छ । त्यसैले नरिवलको पानी पिउनु स्वास्थ्यका लागि हरेक हिसाबले राम्रो हुन्छ ।

फलफुलको रस
बिहान ताजा फलफूलको जुस पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । जुसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै स्वास्थ्यलाई बलियो बनाउँछ । खैर, बिहान तपाईं धेरै प्रकारको जुस पिउन सक्नुहुन्छ। तर कागतीको जुस, एलोभेराको जुस, अनारको जुस र लौकाको जुस बिहान खाली पेटमा खानु निकै फाइदाजनक मानिन्छ । एजेन्सीबाट
वि.सं.२०७९ वैशाख ७ बुधवार १४:३१ मा प्रकाशित






























