काठमाडौं । सत्ता गठबन्धनभित्र रहेका पाँचमध्ये चारदलले धरान उपमहानगरपालिकामा वडातहसम्मै तालमेल टुंग्याएको छ ।
आगमी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि धरान उपमहानगरपालिकामा नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच वडातहसम्मै सहकार्य गरेर जाने सहमति भएको छ ।
धरान उपमहानगरमा नेपाली काँग्रेसले प्रमुख पदसहित १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ को वडा अध्यक्ष पाउने लिने सहमति गरेका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित ३, १५, १७ र २० को वडा अध्यक्ष पाउने भएको छ भने जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ तथा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउने गरी सहमति भएको बताइएको छ ।
सहमतिपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ चुनावी गठबन्धन भएकोले सबै उमेदवारलाई विजयी गराई नेपालको पुरानो ऐतिहासिक उपमहानगरपालिकाको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सहयोग गर्न समेत अपिल गरिएको छ ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार १२:२५ मा प्रकाशित






























