Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

ओलीको गृहनगर दमकमै एमालेलाई जित्न चुनौति, यस्तो छ मतको जोडघटाउ



काठमाडौं । झापाको दमक नगरपालिकामा यस पटकको चुनाव निकै रोचक हुने देखिएको छ । चुनावमा एमाले एक्लै भिडेको छ भने एमालेलाई हराउन अन्य दलहरु एक ठाउँमा उभिएका छन् । एक्लो एमाले र बाँकी दलबीचको प्रतिस्पर्धाले एमालेकै गढ मानिएको दमकमा एमालेलाई जित्न सकस पर्ने देखिएको छ ।

०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित गीता अधिकारी यस पटक एमालेको तर्फबाट मेयरमा उठेकी छिन् । यसअघिको चुनावमा दोस्रो बनेको राप्रपाले यसअघिकै मेयरका प्रतिस्पर्धी राम थापालाई मेयरको उम्मेदवार बनाएको छ । रोचक विषय, एमालेलाई हराउन राप्रपाका उम्मेदवार थापालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतले साथ दिएका छन् ।

यसपकट कांग्रेस र माओवादीले मेयरमा उम्मेदवार उठाएका छैनन् । देशभर राप्रपासँग गठबन्धन नगरेका कांग्रेस माओवादीले यसपटक एमालेलाई हराउनकै निम्ति राप्रपालाई सघाएका छन् । कांग्रेस र माओवादीसहितको मत पाउँदा राप्रपाका थापालाई चुनाव जित्न निकै सजिलो हुने अनुमान गरिएको छ ।

अंकगणितमा गठबन्धनको साथ पाउँदा राप्रपा बलियो

०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका रामनाथ ओली १० हजार ८ सय ६ मत ल्याएर मेयरमा विजयी भएका थिए । तत्कालिन समय भएकाे निर्वाचनमा राप्रपाका राम थापा ७ हजार ६ सय ५५ मत ल्याउँदै दोस्रो भएका थिए ।

निर्वाचनमा माओवादी केन्द्रका रेवतराज पुरीले ६ हजार ८ सय ९८ र कांग्रेसका ढुण्डीराज भण्डारीले ५ हजार ५ सय ३९ मत ल्याएका थिए ।

निर्वाचनमा एमालेले मेयर र उपमेयरसहित ८ वटा वडा जितेको थियो । एमालेले ८ वडा जित्दा राप्रपाले मात्रै २ वटा वडा जितेको थियो । तर, जहाँ सबैजसो वडामा एमालेसँग राप्रपासँगै कांग्रेस र माओवादी प्रतिस्पर्धीको रुपमा देखिएका थिए ।

अहिले एमालेसँग प्रतिस्पर्धी देखिएका दलहरुबीच गठबन्धन बन्दा एमालेलाई जित्न गाह्राे देखिन्छ । मेयर र उपमेयरसहित वडा तहमा गठबन्धनको प्रभाव पर्ने स्पष्ट छ ।

पार्टी विभाजनले एमाले थप कमजोर

एमालेबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)को दमकमा पनि राम्रै संगठन छ । एसका नेताहरु आफ्नो पार्टीसँग तीन हजारको हाराहारी मत रहेको बताउँछन् । जुन एमालेको काटिने मत हो ।

स्थानीय तहको निर्वाचनमा एसले पनि राप्रपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । जुन निर्णय एमालेका लागि घाटाकर हुने देखिन्छ । यदि अनुमानित मत काटिएमा एमालेलाई जित्न थप सकस पर्ने स्पष्ट छ ।

तर, एमालेकी उम्मेदवार अधिकारी भन्छिन् – गठबन्धनको अर्थ छैन

एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेकी गीता अधिकारी भने यसपटककाे चुनाव पनि एमालेले नै जित्ने दाबी गर्दछिन् । राप्रपालाई सघाउने गठबन्धनको अर्थ नहुने उनको भनाइ छ ।

“हामीले गणितीय हिसाब गरेका छैनौं तर, दमकमा गठबन्धनलाई हामीले सहजै लिएका छौं”, अधिकारीले भनेकी छिन्, “नगरपालिका, प्रदेश र संघीय सरकार गरी तीनै तहको राज्यसंरचनासँग मिलेर हामीले दमकमा धेरै काम गरेका छौं । कतिपय काम सम्पन्न भएका छन् भने कतिपय काम निरन्तरतामा छन् । जनताले कामलाई हेरेर पनि जिताउँछन् भन्ने लाग्छ ।”

अधिकारीले आफुँ महिला उम्मेदवार भएको कारण पनि जनतामा निकै आशा बढेको बताएकी छिन् । उनले यसअघिको चुनावमा जस्तै लोकप्रिय मत ल्याउने दाबी गरेकी छिन् । ०७४ मा भएको निर्वाचनमा अधिकारीले मेयरमा निर्वाचित ओलीले भन्दा झण्डै दुई हजार बढी अर्थात् १२ हजार ६ सय २५ मत ल्याएकी थिइन् ।

राप्रपाका उम्मेदवार राम थापा भन्छन् – हामीले जिति सकेका छौं, घोषणा हुन बाँकी छ

राप्रपाको तर्फबाट मेयरका उम्मेदवार राम थापा दमकमा एमाले बाहेकको शक्ति एक ठाउँमा भइसकेको हुनाले चुनाव जित्न कुनै समस्या नहुने बताउँछन् । आफुँ नेतृत्वको गठबन्धनले चुनाव जित्नेमा दुविधा नराख्न पनि उनको आग्रह छ । “हामीले यो चुनाव जितिसकेका छौं, घोषणा हुन मात्रै बाँकी हो”, थापाले भनेका छन्, “अहिले राप्रपा मात्रै होइन यहाँको तेस्रो, चौथो र पाँचौ शक्ति सँगै छौं ।”

दमकका जनताले पनि एमालेको विकल्प खोजेको उनको भनाइ छ । ५ वर्षे कार्यकालमा जनअपेक्षित काम नगरेको र बदनामित भएको कारण पनि एमालेप्रति जनतामा आक्रोश मात्रै रहेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय