
काठमाडौं । भरतपुरको मेयरमा रेनु दाहालले निरन्तर मतान्तर अगाडि बढाउँदै लगेकी छन् ।
साझा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहालले आफ्ना निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका विजयी सुवेदीलाई साढे सात हजार बढी मतले पछाडि पारेकी हुन् ।
शनिबार बिहानसम्म सुवेदी भन्दा ५ हजार मतले अगाडि रहेकी दाहाल आइतबार बिहान साढे सात हजार मतले अगाडि रहेकी छन् । भरतपुर महानगरमा हालसम्म गणना गरिएको ९० हजार ३०८ मतमा दाहालले ३५ हजार ४६० मत ल्याएकी छन् भने सुवेदीले २७ हजार ८९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै कांग्रेसबाट बिद्रोह गरेर बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी फराकिलो मतले अगाडि बढिरहेका छन् । उनले ३७ हजार ६२४ मत ल्याउँदा एमाले राप्रपा गठबन्धनकी उम्मेदवार राप्रपाकी हिमला गुरूङले २२ हजार ५६ मत प्राप्त गरेकी छन् । निर्वाचन कार्यालका अनुसार भरतपुर महानगरमा अब ३७ हजार मत गन्न बाँकी रहेको छ ।