अविचल आस्था मणि
मनमैंजु, काठमाण्डौं ।
१.
छु मारेको आफैं कण कण जलाएर रमिता
सबै साक्षी आफ्नै अति निकटका छन् रचयिता
नमारेको एकै पनि त कविता छैन अब लौ
छु फेरेको शासै नियमित अहो ! बन्न छ शव
२.
छु आगो लाएको तनमन सबैमा अवयव
छु मारेको पक्कै सहज सुखमा यो लगभग
मलामी एक्लै हो शव पर लगें घाट तकमा
चितामा राखेको सकस अति चर्को मफतमा
३.
मलाई मारेको समय पहिलो जन्म पलमा
थियो मोटामोटी सुखद सपना भिन्न छलमा
मरें, मारें आफैं, दुखद विपना भन्न छ किन
छु मारेको कस्तो किसिमसित पो भन्न सकिन
४.
सबैभन्दा राम्रो मरण चुनियो यो पलपल
जलाएको आफैं चरण बुनियो होस् अलमल
म मर्दा देखिन्थें नयननिरमा झल्ल झलल
सबै हाँस्दै, नाच्दै वरपर बसे धन्य सफल
५.
म मर्दा हाँस्नेको लहर चुलियो व्यापक बनी
सबै सुख्खा पार्ने गजब तरिका जल्छ सपनी
म जल्दामा आगो भरर भर बल्थ्यो सकभर
रमेका भेटिन्थे, अभय सुखमा झन् नभचर
६.
म मर्दामा हाँस्ने अवसर मिलेको कतिकति
सबै खित्का छोड्थे, मुसुमुसु गरेका गणपति
बल्यो आगो दन्क्यो, चटट चट ज्वाला जब उठ्यो
सबै हाँसे, नाछे हरपल अहा ! रौनक जुट्यो
७.
छ मार्दै आफैं यो हरपटक घाती अचम हो
खुदै मर्ने डाक्यो नियत ननिको कदम यो
मरी हाँसी हाँसी सकल भवको इज्जत लियो
अझै घोच्दा राम्रो अवयव सबै खेल रचियो
८.
छ मारेको आफैं नगिच त नबस्नै उचित हो
अझै मार्ने राम्रो अवसर जुटोस् हो पुनित जो
जमोस् मार्ने चेष्टा अझ गजबको, हाँस्छ दुनियाँ
चरी नाँची उड्दै फुरफुर अहा ! धन्य मुनियाँ
९.
कठै सुम्प्यो सेवा सदयपन पोख्दै मुलुकमा
छ कुल्चेको कुल्चुन् हरपल कडा होस् तुजुकमा
मरेकाले चङ्गा पनि खुस भएको गगनमा
छु मर्दै इच्छाले शुभ चटकदायी लगनमा
१०.
खुसी मानून् मर्दा भुवनभरका सज्जन मन
अझै बज्रोस्, बर्सोस् कुमति लफडा घातकपन
सधैं आओस् आँधी दमन गरियोस् रुष्ट मनले
मिली बाछो बाँडून् रहर रसिलो दुष्ट जनले
११.
चलोस् बास्ना चर्को जति पटक मर्दा पनि यहाँ
मरी पाएको हो, कुशल विपना भोग्न सपना
छु मारेको, मार्ने अवसर जुटोस् लौ अझ बढी
सबै मान्छे हाँसून्, अचम कविको दर्द छ पढी
छन्द : शिखरिणी
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:४५ मा प्रकाशित






























