अजय शर्मा,पङ्खाबारी, खर्साङ
यो जिन्दगी खै ! के जिन्दगी…
भित्तामा टाँसिएको निर्जीव पोस्टर जस्तै
एक तमासले हेरिरहन्छ,
न बोल्छ, न बोलाउँदा सुन्छ
अनौठो छ जिन्दगी
उदेक छ जिन्दगी
यो जिन्दगी खै ! के जिन्दगी ।
कहिले उन्नतिको हिमाल छुन्छु भनेर हुरिएर जान्छ,
आधा बाटोमा पुगेर फेरि
पाकेको कटहर जस्तै
जमीनमै बज्जारिन्छ जिन्दगी…
यो जिन्दगी खै ! के जिन्दगी ।
क्रिकेट म्याच जस्तै
यो जिन्दगी,
प्रत्येक आक्रमक बलको प्रहार झेल्नुपर्ने
घरि पुर्पुरोमा भेट्छ त घरि कुइनेटो लाग्छ
छेकवारको मुङ्ग्रो हातमा लिएर
संघर्ष गर्दा गर्दै पीर र मर्काको बलले
टङ्ग स्टम्पमा लागेर बोल्ड भै हाल्छ यो जिन्दगी,
लामो भोगाइ र थकानपछि
सेन्चुरी लाउन हान्दा ९९ मै आउट भए झैँ
जिन्दगी ।
९० मिनट घोडा जस्तै कुदेर गोल पोस्ट्मा गोल छिराउन लाग्दा
साइड म्यानले अप्साइडको सिटी फुके झैँ जिन्दगी,
आएको अड्चन र वाधाहरूदेखि फतक्क गलेर
थचक्क भए झैँ जिन्दगी,
यो जिन्दगी खै ! के जिन्दगी ।
खुला निलो आकाशमा पुच्छर र दुई पटिको
पखेटा हल्लाउदै मस्त भैइ उडिरहेको
चंगालाई अचानक अर्को चंगा धागोले चट्ट काट्दा
भौतारिदै दिशाहिन भएर
खुसिले जिउने अधिकार नै नभए जस्तो
अदृश्य भए झै यो जिन्दगी,
यो जिन्दगी खै ! के जिन्दगी ।
वि.सं.२०७९ जेठ २१ शनिवार ०९:११ मा प्रकाशित






























