काठमाडौं । इन्टरनेशनल मनी ट्रान्सफर (आइएमई) २१ औं वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । आइएमईले जेठ २९ गते आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आफ्नो २२ औं वार्षिकोत्सव मनायो ।
आइएमई शुरु हुनुभन्दा अगाडि वर्तमान आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल बैंकमा जागिरे थिए भने उनका भाई हेमराज ढकाल रोजगारीको शिलशिलामा जापानमा थिए । नेपालमा रेमिट्यान्स भित्र्याउने वैधानिक कम्पनीको सम्भावना भएको कुरा देखेपछि ढकाल दाजुभाइले सो विषयलाई योजनावद्ध रुपमा अगाडि बढाएका थिए ।
जापानबाट रेमिट्यान्सको कारोबार सञ्चालन गर्ने योजना भएपनि नेपालमा सो अनुकुलको नीति नभएका कारण तत्काल अगाडि बढाउन सम्भव भएन । ढकाल दाजुभाइकै अग्रसरतामा पहिलोपटक नेपालमा रेमिट्यान्स सम्बन्धी नीति बन्यो । त्यसपछि बैधानिक ढंगले नेपालमा रेमिट्यान्स भित्र्याउने बाटो खुल्यो ।
शुरुमा आइएमई मनी एक्सचेन्ज शुरु गरेका ढकाल दाजुभाइले नीति निर्माण गरेसँगै त्यसलाई आइएमई मनी एक्सप्रेस मनी एक्सप्रेसमा रुपान्तरण गरे । सो संगै उनीहरुले मनी एक्सप्रेसको कामलाई मलेसियाबाट शुरुवात गरे । विस्तारै आइएमई एक्सप्रेसलाई आफुलाई साउदी अरब, मलेसिया, कतार, दुबई, जापान, दक्षिण कोरीया, भारत, लगायतका मुलुकमा विस्तार गर्यो । यतिबेला नेपालमा रेमिट्यान्स आप्रवाहको काम गर्ने ४८ वटा कम्पनीहरु छन् । जसमा आइएमई एक्लैको ३५ प्रतिशत भन्दा बढी हिस्सा रहेको छ । त्यसैले आइएमईले लामो समयदेखि आफुलाई मुलुकको सबैभन्दा ठुलो रेमिट्यान्स आप्रवाह गर्ने कम्पनीको रुपमा स्थापित गर्दै आएको छ ।
आइएमईको वर्तमान स्वरुपको पछाडि ढकाल दाजुभाइको ठूलो संघर्ष, निरन्तरता, इमान्दारिता र विश्वास सहित मेहनतको इतिहास रहेको उनीहरुको तर्क छ ।
आइतबार कम्पनीको २२ औं वार्षिकोत्सवमा आफ्नो धारणा राख्ने क्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आइएमईको स्थापनाको सन्दर्भ कोट्याउँदै सो कुरा बताए । ‘आजभन्दा २२ वर्ष अगाडि त्यतिबेला हामीले ४ जनासँगै बस्ने खाने एउटा खाट भएको कोठालाई नै आइएमईको अफिस बनाएर मलेसियाबाट यो व्यवसायको शुरुवात गरेका थियौं, त्यतिबेला यो व्यवसायलाई अगाडि बढाउने सन्दर्भमा हरेक किसिमको अप्ठ्यारो थियो,’ ढकालले विगत स्मरण गर्दै भने, ‘मान्छेहरुलाई यो व्यवसायको दिगोपनाको विषयमा विश्वास थिएन तर, हामीले त्यतिखेरै वैधाधिक ढंगले वार्षिक रुपमा २० लाख डलर मुलुक भित्र्याउन सक्ने घोषणा गरेका थियौं ।’
नेपालको पहिलो रेमिटेन्स सेवा प्रदायकको रूपमा स्थापित कम्पनी २२ वर्षको अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै स्वउद्यमशीलताको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ । राज्यलाई सबैभन्दा बढी करमा योगदान गरे वापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआइपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ÷संस्थाबाट सम्मानित भइसकेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डको रूपमा हेर्दै आएका छन् । आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाख भन्दा धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिटेन्स सेवाको लाभ लिइरहेका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङले ढकालहरुको नेतृत्वको आइएमईले नेपालमा रेमिट्यान्सको हाइवे बनाएको बताउँछन् । वार्षिकोत्सवमा शुभकामना दिँदै गुरुङले आइएमईले रेमिट्यान्सको क्षेत्रमा हाइवे निर्माण गरेपछि अहिले ५० औं कम्पनीले सो क्षेत्रमा काम गरिरहेको बताए । नेपालले संसारलाई दिनसकेको मध्ये आइएमई एउटा मोडेल भएको भन्दै यसलाई विश्व बैंकले पनि सकारात्मक उदेश्यकासाथ मनिटररिङ गरिरहेको डा. गुरुङले उल्लेख गरे ।
नेपालले संसारलाई दिनसकेको मध्ये आईएमई मोडेल एक भएको उनको भनाइ थियो । आईएमईलाई वर्ल्ड बैंकले पनि मनिटरिङ गरिरहेको उनले बताए । गुरुङ्ले आफुले आइएमईलाई प्रसव बेदनादेखि नै चिन्दै आएको बताउँदै आफु नै डुबेर कंगाल हुन सक्ने अवस्थासम्मको जोखिम मोलेर ढकाल दाजुभाइले आजभन्दा २२ वर्ष अघि आइएमई स्थापना गरेको उल्लेख गरे । एक प्रसंगमा डा. गुरुङले अफ्रिकालगायतका देशहरूमा रेमिटेन्स सेवाका लागि आइएमईको जस्तै सेवा कपी गरिएको जानकारी दिँदै ढकाल दाजुभाई र वहाँहरुले नेतृत्व गरिरहेको आइएमई ‘फादर अफ रेमिट्यान्स’ भएको बताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ०५७\५८ सम्म नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहको रेकर्ड नराखेको बताएका छन् । नेपालमा मनी ट्रान्सफर गर्ने कामका लागि निजी क्षेत्रलाई राष्ट्र बैंकले स्वीकृति पनि दिएको थिएन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालका अनुसार नेपाल सरकारले अहिले विश्वका १ सय ११ वटा मुलुकसँग श्रम सम्झौता गरेको छ । अहिले रेमिट्यान्सको ५७ प्रतिशत हिस्सा आम जनताको घर–घरमा पुगेको र सो का लागि आइएमईको भूमिका महत्वपूर्ण रहेको सचिव अर्यालको भनाइ छ । सोही सन्दर्भलाई सम्झँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले नेपाल राष्ट्र बैंकले मनी ट्रान्सफरको लागि निजी क्षेत्रलाई लाइसेन्स दिने त्यतिबेलाको निर्णय एतिहासिक भएको बताए ।
त्यस्तै, वार्षिकोत्वसवको अवसरमा शुभकामना मन्तव्य राख्दै अर्थसचिव मधुकुमार मरासिनीले पनि आइएमईले नेपालमा आइएमई संस्कृतिको विकास गरेको बताएका छन् । त्यसले मानिसलाई स्मार्ट बनाएको उनको भनाइ छ । अहिले आइएमईले वार्षिक रुपमा औसत १ खर्ब नेपाली रुपैयाँ रेमिट्यान्समार्फत भित्र्याउने गरेको ढकालको भनाइ छ । ‘यकिन फिगर त तलमाथि होला, तर स्थापनादेखि हालसम्म हामीले झण्डै २० खर्ब नेपाली रुपैयाँ बराबरको रेमिट्यास भित्र्याएका छौं,’ ढकालले मन्तव्यको क्रममा भने । ‘कम्पनीको विगतको अवस्थाबाट यहाँसम्म ल्याइपु¥याउन भूमिका निर्वाह गर्ने नेपाल राष्ट्र बैंक र इन्टायर टिमलाई धन्यबाद दिन चाहन्छु,’ ढकालले भने ।
आइएमई ग्रुपले एनआरनएसँग मिलेर चन्द्रागिरी केवलकार र २७ मेगावाटको हाइड्रोपावर निर्माण गरेको ढकालले सुनाए । अझै पनि धेरै काम गर्ने इच्छा आफुहरुको रहेको उनले बताए । ‘हामीले अहिले ४०\५० हजारलाई रोजगारी दिएका छौं, मेरो विचारमा यो कुनै सानो कुरा होइन,’ ढकालले भने । सरकारले आगामी वर्षको लागि ल्याएको बजेट कार्यान्वयन गर्न सकेमा मुलुकमा ठूलो परिवर्तन हुन सक्ने र त्यसको लागि आफुहरुले पनि आवश्यक योगदान गर्न तयार रहेको उनको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठले आजभन्दा २२ वर्षअघि आइएमईको उद्घाटन कार्यक्रममा आफु जान आनाकानी गरेको स्मरण अहिले आइएमईको यो फैलिँदै यो स्वरूप देखेर आफुलाई खुशी लागेको बताए ।
आइएमई स्थापना गर्ने कुरा पक्कै चुनौतीपूर्ण थियो
अर्थमन्त्री जनार्दन शर्माले आजभन्दा २२ वर्ष अगाडि हुन्डी कारोबार चलिरहेको समयमा आइएमई सञ्चालनको शुरुवात गर्ने कुरा आँफैमा चुनौतीपूर्ण काम भएको बताए ।
सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएका अर्थमन्त्री शर्माले आइएमई देश, जनता र स्वयं व्यवसायको पक्षमा भएको धारणा राखेका हुन् । रेमिट्यान्सले परिवारको लालनपालन, स्वास्थ्य र शिक्षामा खर्च गर्न सहयोग गरेको र संकट पर्दा आइएमईको माध्यमबाट सहज ढंगले हातमा पैसा प्राप्त हुने अवस्था रहेको मन्त्री शर्माको भनाइ छ ।
आइएमईले राष्ट्रिय पहिचान प्राप्त गरेर विदेशी मुद्रा ल्याउन महत्वपूर्ण योगदान गरेको उनले बताए । बजेटले रेमिट्यान्सलाई ल्याउने मात्रै नभएर मुलुकमा भएको प्राकृतिक स्रोतलाई उत्खनन्, उत्पादन र निर्यातमार्फत् वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य बोकेको उनको भनाई छ । अहिले पनि अनौपचारिक ढंगले ठुलो मात्रामा रेमिट्यान्स आउने गरेको, कोरियाबाट जम्मा २५ प्रतिशत रेमिट्यान्स मात्रै वैधानिक रुपमा नेपाल आउने गरेको मन्त्री शर्माले बताएका छन् । आइएमई ग्रुपले धेरै क्षेत्रमा काम गरेको अझैपनि रेमिट्यान्सलाई औपचारिक रुपमा ल्याउनको लागि थप पहलको आवश्यकता रहेको बताउँदै उनले आइएमईको थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।
वि.सं.२०७९ जेठ ३० सोमवार ०७:४३ मा प्रकाशित





























