काठमाडाैं । अहिले राजनीतिक वृतमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे चर्चा छ । मंगलबार बसेकाे संसद बैठकमा पनि एसपीपीकाे एजेण्डाले प्राथमकिताका पाएकाे थियाे ।
सांसदहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अमेरिकाबाट ‘स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी) मा हस्ताक्षरका लागि दबाब आएको हो ? भनेर प्रश्न तेर्स्याएका थिए । प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सेनाका चारतारे जर्नेलको भ्रमणका बेला एसपीपीमा हस्ताक्षर गर्न दबाब दिएको समाचार प्रकाशमा आएको भन्दै यसको वास्तविकता के हो भनेर प्रश्न गरे ।
डा. सूर्यप्रसाद पाठकले अमेरिकाले लामो समयदेखि प्रस्ताव गरेको एसपीपीमा अब नेपालले हस्ताक्षर गर्न लागेको हो भन्ने प्रश्न गरे ।
त्यस्तै, सांसद सरलाकुमारी यादवले अमेरिकाले गरेको १० बुँदे प्रस्ताव के हो भन्ने प्रश्न गरिन् । सांसद खेमप्रसाद लोहनीले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति लिनुपर्नेमा सरकार दक्षिणतिर बढी ढल्किएको बताए ।
तर,परराष्ट्रमन्त्री नारायण खड्काले भने राष्ट्रहितविपरीत सरकारले कुनै सैन्य गठबन्धनमा जाने सम्झौता नगर्ने बताएका छन् । सांसदहरूले उठाएका प्रश्नहरूकाे जवाफ दिँदै उनले एसपीपी मानवीय र प्राकृतिक प्रकोप नियन्त्रणसम्बन्धी कार्यक्रम मात्रै रहेको दाबी गरे ।
‘अमेरिकी सेनाका जर्नेलको हालैको नेपाल भ्रमणपछि नेपाललाई सैन्य गठबन्धनमा लैजाने हो कि भन्ने आशंका गरेको देखियो । अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम मानवीय सहयोग, प्राकृतिक प्रकोपबाट उद्धार गर्ने कार्यक्रम हो । यो कुनै सन्धि होइन, अस्थायी खालको कन्सेप्ट हो । सैन्य अलाइन्स होइन, पार्टनरसिप प्रोग्राम हो,’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले नेपाल सैन्य गठबन्धनमा फस्न लाग्यो भन्ने कुरा सत्य नभएको बताए । ‘कांग्रेस नेतृत्वको सरकार त्यतिकै स्वाभिमानी, देशभक्त छ जति विगतका दिनका सरकार थिए । सैन्य गठबन्धनमा जान लाग्यो भन्ने यस्ता सनसनीपूर्ण विषय कुरा उठाइएको छ । स्वाभिमानी देशको राष्ट्रवादी, देशभक्त र देशको हितमा काम गर्ने सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन,’ मन्त्री खड्काले भने ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार १७:५८ मा प्रकाशित




























