काभ्रेपलाञ्चोक । ‘सुनकोसी-तेस्रो’ (५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ ।
मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै आयोजना निर्माणको प्रक्रियातर्फ अघि बढ्ने भएको छ । मन्त्रालयले यो महिनाभित्र अध्ययन प्रतिवेदन पास गर्ने विभागका इञ्जिनीयर सुवास थपलियाले बताए । उनका अनुसार गत वैशाख पहिलो साता मन्त्रालयको विज्ञ टोलीसँग आयोजनाबारे सुझाव/परामर्श लिइएको थियो । “नियमानुसार सबै अध्ययन प्रतिवेदन मन्त्रालय बुझाएका छौँ, उक्त प्रतिवेदन पास भएलगत्तै आयोजना निर्माण कार्यका लागि ढोका खुल्नेछ”, इञ्जिनीयर थपलियाले भने ।
आयोजना अध्ययनसँगै पीडित क्षेत्रका बासिन्दासँग सार्वजनिक सुनुवाइमार्फत लिनुपर्ने राय र सुझाव लिइसकिएको छ । उनका अनुसार सुनकोसी–तेस्रो जलविद्युत् आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भेक्षण, टोपोग्राफी सर्भेक्षण, योजनाको लागत अनुमान, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तथा जैविक, आर्थिक सामाजिकस्थितिबारे अध्ययन गरी मस्यौदा प्रतिवेदनलाई अन्तिम रुप दिइ अध्ययन प्रतिवेदन तयार गरिएको हो ।
अध्ययनअनुसार उक्त जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न रु एक खर्ब ६० अर्ब लाग्ने अनुमानसमेत गरिएको छ । विभागले गरेको सम्भाव्यता अध्ययनका क्रममा उक्त लागत अनुमान गरिएको हो । उनका अनुसार विभागले सम्भाव्यता अध्ययनको काम सकेर योजनाबाट असर पर्ने जिल्लाका स्थानीय तहलाई मस्यौदा प्रतिवेदनमा छुटेका तथा स्थानीय तहले दिनुपर्ने रायसुझाव सङ्कलन गरिएकोे छ ।
“स्थानीय तहको रायसुझावपछि प्रतिवेदन स्वीकृतका लागि मन्त्रालयमा पठाइएको हो”, इञ्जिनीयर थपलियाले भन । उनका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को कामसमेत भइरहेको छ । यसका लागि विभागद्वारा आयोजनाबाट पीडित क्षेत्रअन्तर्गत चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम गरिएको थियो ।
उक्त आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दामा असर पर्ने जनाइएको छ । कोरोनाको जोखिमका कारण अध्ययनको काममा असर परेर बन्द इआइएको काम थकेलिँदै आएको थियो । यसअन्तर्गत स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । विभागका अनुसार यसअघि नै आयोजनाको प्राविधिकतर्फको अध्ययन सकिएको थियो ।
सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने–नहुने निक्र्यौल नभएका कारण सरकारले अध्ययनबाहेकमा थप बजेट विनियोजन गरेको छैन । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी-तेस्रोको टिओआर भने २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको थियो । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्षरुपले असर पर्ने घरपरिवार तथा क्षेत्रलाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतका विषयसमेत उल्लेख गरिएको जनाइएको छ । रासस फाइलफोटो
वि.सं.२०७९ असार ४ शनिवार १५:४४ मा प्रकाशित






























