काठमाडौं । जापानको माथिल्लो सदनको लागि भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको सत्तारुढ दल एलडीपीले बहुमत ल्याएको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)–कोमिटो गठबन्धनले ७६ सिट जित्दै माथिल्लो सदनमा बहुमत कायम गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आबेको हत्या भएको दुई दिनपछि यी निर्वाचनहरू भएका थिए। शिन्जो आबेको शुक्रबार पश्चिमी जापानको नारा सहरमा गोली हानी हत्या गरिएको थियो । त्यतिबेला उनले चुनावी सभालाई सम्बोधन गरिरहेका थिए ।
जापानको माथिल्लो सदनमा आइतबार भएको निर्वाचनमा ५२.०५ प्रतिशत मतदाताले मतदान गरेका छन् । यो मतदान २०१९ को चुनाव भन्दा धेरै हो, तर जापानको चुनाव इतिहासमा भने दोस्रो सबैभन्दा कम मतदान हो । जापानको क्योडो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडीपीसँग २४८ सदस्यीय माथिल्लो सदनमा १६६ भन्दा बढी सिट रहेको छ। यो एलडीपी गठबन्धनको २०१३ पछिको उत्कृष्ट प्रदर्शन हो। योसँगै जापानको प्रमुख प्रतिपक्षी दलको २३ सिट रहेको कन्स्टिट्युशनल डेमोक्रेटिक पार्टी अहिले २० सिटमा झरेको छ ।
प्रधानमन्त्री किशिदालगायतको अनुहारमा खुशी थिएन
जापानी प्रधानमन्त्री फुमियो किशिदा र अन्य एलडीपीका अधिकारीहरू आइतवार राति मिडियासामु देखा परेका थिए । प्रधानमन्त्री फुमियोले आबेको मृत्युको लागि शोकको चिन्हको रूपमा कालो टाई र रिबनसहितको पोशाक लगाएका थिए। यी नेताहरूले मौन बसेर आबेलाई श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री किशिदाले आबेको तस्बिरमा गुलाबी फूल चढाउँदा उनको अनुहारमा कुनै खुशी थिएन।
हिंसाले लोकतन्त्र खतरामा : किशिदा
पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री किशिदाले हिंसाले निर्वाचन प्रक्रिया र लोकतन्त्रको जगमा खतरा पुगेको बताए । उनले भने, “म यो निर्वाचनलाई कुनै पनि हालतमा सम्पन्न गर्न कटिबद्ध छु ।” मिडिया रिपोर्टका अनुसार यस चुनावमा भारी जितपछि प्रधानमन्त्री किशिदाले तीन वर्ष चुनावमा जानु पर्दैन । उनीहरुलाई आफ्नो नीति एजेन्डा लागु गर्न पूर्ण स्वतन्त्रता हुनेछ।
किशिदाले यी समस्याहरूको सामना गर्नुपर्छ
प्रधानमन्त्री किशिदाले अब मुलुकको आर्थिक अवस्था, युक्रेन युद्धका कारण बढ्दो मुद्रास्फीति, नयाँ पुँजीवाद, कूटनीति, सुरक्षा, संविधान संशोधन जस्ता विषयलाई सम्बोधन गर्नुपर्नेछ । उनले यस दिशामा निरन्तर लाग्ने बताए । जापान टाइम्सका अनुसार आइतवारको विजयले किशिदा सरकारको लागि नयाँ सुरुवात हो। उनले मन्त्रिपरिषद् हेरफेरको पनि तयारी गरिरहेका छन् । उनले सेप्टेम्बरमा मन्त्रिपरिषद्मा फेरबदल गर्न सक्नेछन् ।
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)–कोमिटो गठबन्धनले ७६ सिट जित्दै माथिल्लो सदनमा बहुमत कायम गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शिन्जो आबेको शुक्रबार पश्चिमी जापानको नारा सहरमा गोली हानी हत्या गरिएको थियो । त्यतिबेला उनले चुनावी सभालाई सम्बोधन गरिरहेका थिए । एजेन्सीकाे सहयाेगमा
वि.सं.२०७९ असार २७ सोमवार १३:५० मा प्रकाशित






























