मस्को । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको उच्चस्तरीय बैठकमा भाग लिनका लागि विदेशमन्त्री सर्गेई लाभरोभ र उनको प्रतिनिधिमण्डललाई भिसा दिने अपेक्षा गरेको रुसका एक वरिष्ठ कूटनीतिज्ञले जनाएका छन् ।
“हामी विश्वास गर्छौं परराष्ट्रमन्त्री सर्गेई लाभरोभ र अन्य प्रतिनिधिमण्डलका प्रतिनिधिहरूलाई समयमै संयुक्त राज्य अमेरिकामा प्रवेश भिसा जारी गरिनेछ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयको स्थानको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घ र अमेरिकी सरकारबीचको सम्झौताअन्तर्गत अमेरिकाले आफ्ना दायित्वहरू कडाइका साथ पूरा गरेको सुनिश्चित गर्न, सबै भिसा आवेदनहरू समयमै विचार गर्नेछ, रुसी विदेश मन्त्रालायका वरिष्ठ अधिकारी प्योत्र इलिचेभले बताएका छन् ।
फेब्रुअरीको अन्त्यमा अमेरिकाले लाभरोभ विरुद्ध प्रतिबन्धहरू लगाएको थियो जसमा देश प्रवेश गर्न प्रतिबन्ध, अमेरिकामा सम्पत्ति रोक्का गर्ने र अमेरिकी कम्पनीहरू र नागरिकहरूलाई प्रतिबन्धहरूको सूचीमा समावेश भएकाहरूसँग व्यापार गर्नबाट समेत प्रतिबन्ध लगाइएको थियो ।
रुसी विदेश मन्त्रालयले भने प्रतिबन्धलाई अवैधानिक भन्दै लाभरोभको विदेशी बैंकहरूमा खाता नभएको जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले बुधबार स्पुतनिकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अन्य वरिष्ठ संयुक्त राष्ट्रका अधिकारीहरू आयोजक देश संयुक्त राज्य अमेरिका र रुसी मिसनलगायत विश्व निकायका सम्बन्धित नियोगहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन् ।
जुलाई २७ मा केही मिडिया रिपोर्टहरूले संयुक्त राष्ट्रसङ्घका निकायहरूको काममा भाग लिन चाहने थुप्रै रूसी प्रतिनिधिहरूलाई अमेरिकाले भिसा जारी नगरेका कारण रूसले आफ्ना कूटनीतिज्ञहरूले अमेरिकी भिसा प्राप्त गर्न नसक्ने हुनसक्नेतर्फ सङ्केत गरेको हो ।
संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाबीचको सम्झौताअनुसार मुख्यालयको आयोजक राष्ट्रको हैसियतमा अमेरिकी अधिकारीहरूले सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधि र अधिकारीहरूलाई संयुक्त राष्ट्रसङ्घको भ्रमणमा अवरोध गर्नु हुँदैन भन्ने प्रावधान भएको स्पुतनिकले उल्लेख गरेको छ । (रासस/एएनआई)
वि.सं.२०७९ भदौ ३ शुक्रवार ०९:०१ मा प्रकाशित





























