काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार कारोबार सुरु हुँदा बढेकाे नेप्से परिसूचक उतारचढावका बीच ७.७२ अंकले घटेर २०६० विन्दुमा पुगेकाे छ।
गत बिहीबारदेखि २७ अंकको वृद्धि देखिएको बजारमा आइतबार पनि वृद्धि हुने अपेक्षा थियो। तर, आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसूचक घटेका छन्।
यस्तै वाणिज्य बैंक, होटल, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ। आइतबार दिनभर २१८ कम्पनीको ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका आधारमा आज रिडी पावर कम्पनी अग्रस्थानमा छ। कम्पनीको १२ करोड बढीको कारोबार भएको हो। यस्तै अपि पावर कम्पनीको पनि १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
यस्तै तीन दिनअघि मात्र बजारमा कारोबार खुलेको मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै सात कारोबार दिनअघि सेयर बजारमा आएको अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पनि करिब १० प्रतिशत मुनाफा आर्जन गरेका छन्।
वि.सं.२०७९ भदौ ५ आइतवार १६:०८ मा प्रकाशित


























