काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले असोज ९ गते आइतबार शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्काशन गरेको थियो । कम्पनीले स्थानीयका लागि ६ लाख २० हजार कित्ता साधारणसभा निष्काशन गरेको थियो । आईपिओमा रितपुर्वक आवेदन दिने स्थानीयका लागि ५ लाख ६९ हजार ६ सय ९० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । स्थानीयले खरिद नगरेको ५० हजार ३ सय १० कित्ता सर्वसाधारणका लागि थपेर निष्काशन हुने छ । आईपिओको नतिजा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।
नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।
कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ ।
वि.सं.२०७९ असोज १० सोमवार ११:४७ मा प्रकाशित


























