back
CTIZAN AD

नयाँ बीमा ऐनले बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गराउँछ

वि.सं.२०७९ असोज २६ बुधवार

729 

shares

बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको बीमा ऐन, २०७९ प्रमाणिकरण भएको छ । नेपालको बीमा उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि धेरै कामहरु गर्नु अपरिहार्य भइरहेको अहिलेको अवस्थामा मौजूदा ऐन बाधक रहेको थियो ।

सरकारले ल्याएको नयाँ ऐन प्रगतिशील छ । यसले बीमा उद्योग नयाँ युगमा प्रवेश गर्नका लागि सम्भावनाको ढोकाहरु खोलिदिएको छ । यस उपलक्ष्यमा बीमा ऐनको डिजाइनर तात्कालिन अध्यक्ष प्रा.डा. फत्त बहादुर के.सी. तथा यसलाई यथासमयमा संसदबाट पास गराउन सक्रिय भूमिका खेल्नु हुने वर्तमान अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यूहरु विशेष धन्यवादका पात्र हुनुहुन्छ भने सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माज्यूहरुको भूमिका सह्राहनिय मान्नु पर्दछ ।

बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरित हुनुको साथै प्राधिकरणको क्षेत्राधिकार फराकिलो बनेको मात्रै छैन थप जिम्मेवार बनाएको छ । एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनु पर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्वारा हुनेछ ।

ऐनले के–के व्यवस्था गरेको छ ?

प्राधिकरणले बीमा सम्बन्धि दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ । त्यस्तै बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ । बीमित हितकोष स्थापना गर्न सक्नेछ । तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ । ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको छ । बीमा क्षेत्रमा कार्यरत विभिन्न पेशेवार व्यवसायीहरुको वृत्ति विकास हुनेछ । समग्रमा भन्नुपर्दा आम जनताले सर्वसुलभ ढंगबाट बीमा सेवा प्राप्त गर्ने, बीमाको पहूंच बृद्धि गर्ने, बीमाको पहुँच र घनत्व बढाउने संरचनाको विकास हुनेछ ।

यस घडिमा नियामक निकाय, बीमा सेवा प्रदायक कम्पनी तथा संस्थाहरु, अभिकर्ता, सर्भेयर, ब्रोकर, पत्रकार, अनुसन्धाकर्ता, प्राध्यापक, बिश्लेषक, बीमित र बीमितहरुको हितमा काम गर्ने अभियन्ताहरु, बीमा क्षेत्रको हित चाहने सबै शुभेक्षुक सबैलाई बधाई तथा शुभकामना !

(घिमिरे पोखरा विश्व विद्यालयका सह–प्राध्यापक तथा बीमा विज्ञ हुन् ।)

वि.सं.२०७९ असोज २६ बुधवार १७:४३ मा प्रकाशित