लण्डन । नेपलिज युथ यूकेले एनआरएनए यूकेको नाममा आगामी १८ अक्टोबरमा गर्ने भनिएको विशेष साधारणसभाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष धिरज राई र महासचिव खगेन थापामगरले सोमबार एक विज्ञप्ति जारी गर्दै ’असंवैधानिक’ र ‘औचित्यहीन’ भेला वहिष्कार गर्न बेलायतस्थित समस्त नेपाली युवालाई अपिल पनि गरेका छन् ।
‘वैधानिक रुपमा जननिर्वाचित अध्यक्ष प्रेम गाहामगर भएको सर्वविदितै छ । उहांको कार्यकाल अझै ११ महिना बांकी रहंदा अध्यक्षलाई नै वाइपास गरि केही समूहले विशेष साधारणसभा गर्न लागेकोप्रति हाम्रो कडा आपत्ति छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता असंवैधानिक र औचित्यहीन भेला वहिष्कार गर्न बेलायतस्थित समस्त नेपाली युवालाई हामी यसै विज्ञप्तिमार्फत अपिल गर्दछौं ।‘
विज्ञप्तिमा अगाडि भनिएको छ– ‘गएको ११ औ साधारण सभा तथा संघसंस्था प्रतिनिधि सभाले बर्खास्त गरेका पूर्व महासचिव खुशी लिम्बू र आर्थिक घोटाला आरोपित छानविन समितिको प्रक्रियामा रहेका उपाध्यक्ष सुनिल बाबु खड्काद्वारा संप्रेसित इमेल अवैधानिक र भ्रामक रहेकोले यो समाचारलाई वास्ता नगर्नका लागि अनुरोध गर्दछौं ।’
सामाजिक एकता र सद्भाव बिथोल्ने त्यो समूहलाई नंग्याउंदै आफ्नो आवाज बुलन्द गर्न सबै युवाहरुमा अपिल पनि गरिएको छ ।
‘परिवर्तन युवाबाट सम्भव छ, हामी गर्छौं न कि कुनै स्वार्थी समूहबाट । उनीहरुलाई बहिष्कार गरौं, समाजमा खेल्न नदिउं’, विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचित अध्यक्ष र कार्यसमिति हुंदाहुंदै सामाजिक सद्भाव र आपसी एकता खलबल्याउन उद्यत समूहको भण्डाफोर गर्दै चेतावनी सहित कथित अधिवेशन रोक्न आफ्नो तर्फबाट हरदम प्रयास रहने पनि अवगत गराइएको छ ।
‘हाम्रो आग्रहलाई वेवास्ता गर्दै अधिवेशनको प्रपञ्च रचिए त्यसबाट आउने प्रतिकुल परिणामप्रति हामी जिम्मेवार नरहने पनि यसै विज्ञप्तिमार्फत जानकारी दिन चाहन्छौं’– विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अन्तराष्ट्रिय समन्वय परिषदलाई एनआरएनए यूके अध्यक्ष गाहामगरको अनुमति बिना गत २८ जुलाईमा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम लुटपाटको शैलीमा झिकेर पठाइएको भन्दै सो रकम फिर्ता नल्याइए कानुनी लडाईंमा अग्रमोर्चामा आउन वाध्य हुने चेतावनी पनि दिइएको छ ।
साथै यही १४ देखि २० अक्टोबरसम्म नेपालमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्न बेलायतबाट जान लागेका ५४ जना युवा खेलाडीलाई अन्तिम समयमा आएर एनआरएनए आइसीसीका म्यादी अध्यक्ष कुल आचार्य, एनआरएनए स्पोर्टस एकेडेमीका संयोजक जीवन सेन एवं सदस्य सचिव धर्मराज गिरीले विचल्ली पारेको आरोप लगाउँदैै धेरै युवा प्रतियोगितामा जानबाट वञ्चित हुनु निकै दुर्भाग्यपूर्ण रहेको बताइएको नेपालीज युथ युकेका प्रबक्ता गजेन्द्र गुरुङद्धारा जारी विज्ञप्तिमा उल्लेख ।
वि.सं.२०७९ असोज २६ बुधवार १७:५३ मा प्रकाशित



























