Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

पूँजीवादको छातामुनि लोकतन्त्र



आज विश्वमा जुन लोकतन्त्रको चर्चा गरिन्छ त्यो पूँजीवादी लोकतन्त्र हो । यसलाई आधुनिकता र पूँजीवादी कालखण्डको लोकतन्त्र पनि भन्ने गरिन्छ । यद्यपि समाजको सभ्यताको विकासक्रममा सत्तातन्त्रको हिसाबले हेर्ने र केलाउने हो भने निर्वाचनको कुरा गर्दा यो सामन्ती व्यवस्थाअन्तर्गत पनि इतिहासमा कुनै न कुनै रूपमा हुने गरेको देख्न पाइन्छ । हाम्रो देशमा पनि एक समय ‘जो दौडेर अघि पुग्छ, उही राजा हुन्छ’ भन्ने मान्यता रहेको थियो जसलाई आजकल ‘लिग लिगे’ राजनीति पनि भन्ने गरिन्छ । अर्थात् राजा हुन या शासक हुनका लागि दौडेर जित्नसक्ने क्षमता र गुण हुनु पर्दथ्यो भन्ने देखिन्छ । अहिले पछिल्लो समयको कुरा गर्ने हो भने हाम्रो देशमा सामन्ती व्यवस्थाको बर्चश्व रहेको बेलामा पञ्चायती निर्दलीय कालमा पनि चुनाव हुने गरेको थियो । विश्वका पूँजीवादी देशहरुमा जुन निर्वाचन हुने गरेको हामी पाउँदछौ त्यसबाट पनि एकतन्त्री फाँसीवादी चिन्तन र चरित्र विकास भएको हामी देख्दछौं । विश्वमा पहिलो र दोश्रो विश्व युद्धको कालखण्डका बीचमा हिटलर र मूसोलोनीको उदयलाई यस्तै फाँसीवाको उदाहरणको रूपमा लिने गरेको पाइन्छ । त्यसैले चुनाव बिकल्प खोज्ने या यथास्थितिमा रहने भन्ने कुराको चयन गर्ने एउटा माध्यम अवश्य हो तर, यो आफै लोकतन्त्रको पर्याय या लोकतन्त्र भने होइन, जस्तो कि प्रचार गर्ने गरिन्छ ।

एउटा सन्देहरहीत कुरा के हो भने फाँसीवाद यथार्थतः पूँजीवादी व्यवस्थाकै एउटा निष्कृष्ट र क्रूर रूप हो भनेमा अतिशयोक्ति हुँदैन । यस सन्दर्भमा लेनिनले बीसौं शताब्दीको पहिलो र दोश्रो दशकसम्मको पूँजीवादको विश्लेषण गर्दै भनेका थिए कि साम्राज्यवाद पूँजीवादको उच्चतम अबस्था हो । उनको के मान्यता प्रष्ट देखिन्छ भने साम्राज्यवादका कारणले पूँजीवादी मलुकहरुको लूटको लडाई यत्ति तीब्र भएर जाने छ र शोषण यत्ति धेरै हुनेछ जसले गर्दा क्रान्तिकारी नेतृत्वको हैसियत हासिल गरेको श्रमजीवी जनताले आफुमाथिको शोषणका जुवालाई उतारेर फाल्नेछ र यसरी साम्राज्यवाद पूँजीवादी व्यवस्थाको अन्तिम चरण साबित भएर जानेछ ।

हुन पनि ‘पहिलो विश्व युद्ध’का बेला यो कुरा धेरै हदसम्म सावित पनि भएको थियो । जतिबेला ‘तेश्रो विश्व’का संसाधनहरु र बजारमाथि कब्जा गर्नका लागि बिभिन्न देशहरु आपसमा यसरी उल्झेका थिए जसले गर्दा सारा विश्व नै युद्धको मैदान बन्न पुगेको थियो । त्यसै युद्धको बेला स्वयम् लेनिनको नेतृत्वमा ऐतिहासिक र युगान्तकारी सोभियत–क्रान्ति भएको थियो जुन क्रान्तिले सारा संसारमा समानताको सपनालाई अझ व्यापकरूपमा बिस्तार गरेको थियो । त्यसपछि विश्वका बिभिन्न देशमा खाशगरी कतिपय यूरोपेली देशहरुमा समाजवादी सरकारहरु स्थापित भए भने पूँजीवादको उपनिवेश बनेका कयौ देशहरु त्यसबाट मुक्तिको संघर्षमा अपूर्वरूपमा त्यतिबेला अघि बढेका थिए ।

विश्लेषकहरु भन्दछन् त्यतिबेला पूँजीवादका विरुद्ध निर्णायक संघर्ष चलाएको भए युद्धको अन्त्यको आरम्भ भइसकेको हुने थियो । तर केवल पुनः दुइ दशक भित्रै विश्वले ‘दोश्रो महायुद्ध’ बेहोर्नु पर्‍यो, फस्नु पर्‍यो । यो पूँजीवादले आफ्नो अन्तरनिहीत संकटबाट पार पाउने एउटा पूँजीवादी रणनीति थियो । हुन पनि पूँजीवादका अनेक बिशेषताहरु प्नि छन्,तिनमा सबैभन्दा प्रमुख बिशेषता हो – नित्य नयाँ संकटसँग जुध्नका लागि पूँजीवादका कलाबाजीहरु ! दोश्रो विश्व युद्धताका उसले फाँसीवादको सहरा लियो र एक जातिको श्रेष्ठताको नाममा मनुष्यता र मानवीयताका विरुद्ध जुन अत्याचार गरियो त्यसले विश्वलाई नै नराम्रोसँग कम्पयमान गरायो ।

वास्तवमा त्यतिबेला एकातिर त सोभियत समाजवादी गणतन्त्रका जनता संघर्ष गरिरहेका थिए भने अर्कोतिर लोकतन्त्रको कुरा गर्ने पूँजीवादी देशहरु थिए । यद्यपि त्यो लडाई ततकाल फाँसीवादलाई समाप्त गर्दै अन्त्य भयो । अनि पुरानो पूँजीवादले पनि लोक कल्याणकारी अबधारणा प्रस्तुत गरेर आफ्नो रक्त रञ्जित अनुहारको दाग मेटाउन वा छोपछाप पार्ने कोशिश गर्न शुरु ग¥यो ।

यस सन्दर्भमा लोकतन्त्रकै कुरा गर्ने हो भने सुक्ष्म दृष्टिकासाथ गहिराईपूर्व हेर्ने हो भने यूरोपमा औद्योगिक क्रान्ति सम्पन्न भए पछि त्यहाँ तीनवटा विचार त्यस सँगसँगै आए । ती विचार हुन् पूँजीवाद, लोकतन्त्र र आधुनिकता । यसमा मजाको कुरा के छ भने यी तीन कुरा परस्परमा पृथक जस्तो लागे पनि तिनको भित्री नाभी नाल गाँसिएको छ । लोकतन्त्र वास्वतमा आफैमा एक आधुनिक विचार हो जसले व्यक्तिको गरीमा र स्वतन्त्रतामाथि जोड दिने गर्दछ । यी तत्वले पूँजीवादलाई एउटा नैतिक वैधता प्रदान गर्दछ जुक कुरा त्यतिबेला सामन्तवादको बिकल्पमा एउटा आधुनिक उत्पादन प्रणालीकोरूपमा प्रकट भएको थियो । त्यसले आफ्नो सीमा हुँदाहुँदै पनि लोकतन्त्र अहिलेसम्मको सबैभन्दा राम्रो शासन व्यवस्था सिद्ध भएको र व्यस्क मताधिकारका आधारमा प्रत्येक व्यक्तिलाई शासक चुन्ने अधिकार प्राप्त भएको छ ।

यो निश्चय हो कि आधुनिकता र पूँजीवादको कालखण्डमा लोकतन्त्र आउने गर्दछ । तर सत्ता–तन्त्रको निर्वाचन सभ्यताहरुको इतिहासमा सबै ठाउँमा कुनै न कुनै बेला कुनै न कुनै रूपमा उपस्थित रहेको पाइन्छ । भारतीय सन्दर्भमा यसको खोजी गरिदा छैठौं शताब्दीको इशा पूर्वको महाजन पदहरुमा अधिकांशको शासन र निर्णय प्रकृया बृहद हदसम्म लोकतान्त्रि रहेको देखिन्छ । यद्यपि त्यो कालखण्ड सामन्तवादको कालखण्ड थियो । अनि यो आफैमा निकै मजाको कुरा थियो कि सामन्तवादी व्यवस्था लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट अभिव्यक्त भइरहेको देखिन्छ ।

यसका ठोस कारणहरु पनि थिए । पहिलो कुरा त त्यस समयमा उत्पादनको प्रकृया र सम्बन्ध सामन्तवादी थियो र महाजन पदहरुका अतिरिक्त अन्य राज्यहयरुमा पनि त्यस्तै सम्वन्ध र प्रकृया कायम थियो । पछिबाट साम्राज्यहरुको उदयसँगसँगै जनपदहरु समाप्त हुँदै गए । किनकि तिनको ‘नवजात लोकतन्त्र’ दिन प्रतिदिन जटील हुदै गएको उत्पादन सम्वन्धहरुलाई सम्हाल्न कुरामा असफल साबित हुँदै गएको थियो । एउटा मगध जस्ता साम्राज्यहरुले त्यसलाई गरेर देखाए जस्तो साम्राज्यहरुले गर्ने गर्दछन् ।

यतिसम्म उदाहरण दिएर विस्तारमा कुरा गर्नुको अर्थ यति मात्रै हो कि यसबाट लोकतन्त्र एउटा शासन प्रणाली हो जुन कुनै अरु किसिमको शासन प्रणालीले झैं आफ्नो समयको बर्चश्वशाली व्यवस्थालाई अभिव्यक्त गर्दछ चाहे त्यो सामन्तवाद होसे्, पूँजीवाद होस् या यतिसम्म कि समाजवादी व्यवस्था पनि लोकतन्त्रकै माध्यमले नै सञ्चालित हुन सक्छ । यो एउटा ऐन जस्तै हो जसका सामुमा कोही आउँदछ उसैको अनुहारको प्रतिबिम्ब देखापर्दछ । ठीक यस्तै निरंकूश शासन व्यवस्थाले पनि गर्न सक्छ र सामन्तवाद, पूँजीवाद र यहासम्म कि समाजवादी पनि निरंकुश शासन व्यवस्था अन्तरगत पनि सञ्चालित हुन सक्दछ ।

यसको मतलब लोकतन्त्रको महत्वलाई कम गरेर आँक्नु र त्यसको अबमूल्यन गर्नु कदापि होइन । लोकतन्त्रका बारेमा यस्तो कुरा लेख्ने स्वतन्त्रता लोकतन्त्रले नै दिन सक्तछ । कुनै पनि निरंकूश शासनले आफ्नो आलोचना यस किसिमले सहन गर्न कदापि सक्तैन । त्यसैले लोकतन्त्र एउटा राम्रो शासन व्यवस्था हो र यसको बिकल्प अझ राम्रो र उन्नत लोकतन्त्र मात्रै हुन सक्दछ । तर उन्नत र अझ राम्रो लोकतन्त्रको लक्ष आज कसरी हासिल गर्न सकिन्छ ? किनकि आज पूँजीवाद शोषण र असमानताको शिखरमा पुगेर ढसमस्स बिराजमान छ । मात्र एक प्रतिशत उद्योगपतिहरुले विश्वको आधा जनसंख्याको भन्दा बढी सम्पत्ति कब्जा गरेको र प्रभाबी रहेको छ । यो संशाधनमाथि कब्जा गर्ने उसको धून केवल प्रकृतिलाई विनाश गर्नमा मात्र लागेको छैन जल, जंगल, जमिन बचाउनु पर्दछ भन्नेहरुलाई हरेक किसिमले नराम्रोसँग प्रताडित पनि यसले गर्ने गरेको छ ।

जतिबेला लोकतन्त्र आएको थियो त्यतिबेला पूँजीवादका लागि यो आवश्यक थियो कि सामन्तवादलाई समूल नष्ट गर्ने । यसकारण त्यसले समानता, स्वतन्त्रता र भाइचारा जस्ता महत्वपूर्ण र आकर्षक नारा दिएको थियो । पूँजीवादलाई लोकतन्त्र बहुतै सुहायो पनि । तर, आज पूँजीवाद लूटको जुन स्तरमा पुगेको छ यतिबेला समानता, स्वतन्त्रता र बन्धूत्व अबाञ्छित प्रतीत हुन थाले । प्रष्ट छ, आज ती मूल्यहरुबाट पूँजीवादलाई मुक्ति चाहिएको छ । त्यसैले आज दिन प्रतिदिन लोकतान्त्रिक मूल्य मान्यता र प्रकृयाहरुलाई योजनाबद्ध किसिमले नै कमजोर तुल्याउने काम भइरहेको सर्बत्र देखिन्छ । विश्व स्तरमा नै व्यवस्थाका सबै मूख्य अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका यसै परियोजनामा संलग्न रहेका छन् ।

यद्यपि यो कुरा पूर्णरूपले र सिधा सिधा भन्न सकिन्न कि अब पूँजीवादको लक्ष्य लोकतन्त्रबाट पूरा भइरहेको छ्र र उसलाई निरंकूश शासन व्यवस्थाको आवश्यकता परेको छ । त्यसैले कुनै घोषणा नगरीकन नै यो काम हुँदैछ । कति ठूलो बिडम्बना हुन्छ या हुनेछ यो – निरंकूश लोकतन्त्र !

त्यसैले आज लोकतन्त्रलाई बचाउने संघर्ष कुनै एकाङ्गी कुरा हुन सक्दैन । अब केवल बचाउनाले मात्र लोकतन्त्र बच्नेवाला छैन, त्यसलाई माथि भनिएजस्तै अझ उन्नत र अझ राम्रो बनाइनु पर्दछ । केवल राजनीतिक मात्रै होइन, आर्थिक र सामाजिक लोकतन्त्र स्थापित र तिनका बीचमा सामञ्जस्य भएको लोकतन्त्रको मात्र भविष्य छ । प्रष्ट छ, भविष्यको समाजवाद पनि यस्तो लोकतन्त्र बिना अर्थात् समाजिक समानताको लोकतन्त्र बिना कायम रहन सक्दैन । अनि भविष्यको लोकतन्त्र वैज्ञानिक समाजवाद बिना बन्नै सक्दैन । अन्योन्याश्रित लोकतन्त्र र समाजवाद अबको विश्वको मूलबाट हो । अरु कतै अल्मलिनु आवश्यक छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा