सुधीर ख्वबि, पाटन, ललितपुर
आरनमा फलाम पिट्दै
हथकडी बनाउँदै गरेको बेला
ती कारिगडले सोचेकै थिएन होला कि
यी हथकडीहरु कुनैदिन
निर्दोषहरुका नाडीमा पनि फसाइन्छन्
भनेर
र त,
उसले बडो उत्साहमा बनाएका थिए
हथकडीहरु
कि चोर, फटाहाहरु कजिने भयो
लुटेरा, भ्रष्टाचारीहरू सुध्रीने भए
हत्यारा, बलात्कारीहरु थुनिने भए
तर,
आज चोरलाई चौतारीमा सम्मान गरेर
हत्याराहरुलाई उच्चासनमा विराजमान गरेर
बलात्कारीहरुलाई संरक्षित गरेर
निर्दोषहरुलाई हथकडीमा बाँधेको देखेर
आफ्नो सीप प्रति लज्जा वोधमा
रापिएको छ होला कारिगड मन !
यसमा प्रश्न उठ्न सक्छ कि
कारिगडलाई लज्जावोध किन ?
किनकी लज्जाविहिनहरुले
आधिपत्य जमाइरहेको यो माटोमा
लज्जित हुने भनेकै भुइँमान्छेहरु हुन्
म सोंचिरहेछु यतिबेला
मुहार छोपिनेगरि सजिएका फूलमालाहरू
हथकडि भएर नाडीहरूमा
कहिले बाँधिने होला ?
वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:२९ मा प्रकाशित






























