नयाँदिल्ली । विश्वमा सर्पदंशका कारण मृत्यु हुनेको सङ्ख्या ७८ हजार ६०० रहेको स्थानीय अखबार द हिन्दूले आइतबार एक अन्तर्राष्ट्रिय अध्ययनलाई उद्धृत गर्दै जनाएको छ ।
सर्पदंशका कारण भारतमा हरेक वर्ष ६४ हजार १०० जनाको मृत्यु हुने गरेको छ ।
यो नेचर कम्युनिकेसन्स जर्नलमा हालै प्रकाशित एक अन्तर्राष्ट्रिय अध्ययनको आँकडा हो र यो अध्ययन ‘जर्ज इन्स्टिच्यूट फर ग्लोबल हेल्थ–इन्डिया’का अन्तर्राष्ट्रिय जनस्वास्थ्य विशेषज्ञ सौम्यदीप भौमिकको नेतृत्वमा अन्य २१ देशका अनुसन्धाताले गरेका थिए ।
भौमिकले पत्रिकामा उल्लेख गरेका छन् “सर्पदंश भारत र अन्य धेरै निम्न र मध्यम आय भएका देशहरूमा लामो समयदेखि मान्यता प्राप्त सार्वजनिक स्वास्थ्य समस्या हो । तर सर्पदंशबाट हुने मृत्युको विश्वव्यापी दर केही समयअघिसम्म थाहा थिएन ।”
विशेषज्ञका अनुसार हालैको अध्ययनले सर्पदंशका कारण विश्वभर हुने ७८ हजार ६०० मृत्युमध्ये ६४ हजार १०० जनाको मृत्यु भारतमा हुने गरेको अनुमान गरेको छ ।
भारतको उत्तरी राज्य उत्तर प्रदेशमा हरेक वर्ष सर्पदंशका कारण सबैभन्दा बढी १६ हजार १००, मध्य प्रदेशमा पाँच हजार ७९० र राजस्थानमा पाँच हजार २३० जनाको सर्पदंशका कारण मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।
भारतमा सर्पदंशबाट हुने मृत्युदर प्रति एक लाख मानिसमा चार रहेको छ, जुन विश्वमै सबैभन्दा बढी हो र यो विश्वमा प्रति एक लाख व्यक्तिमा ०.८ को मृत्युदरभन्दा बढी हो ।
“बर्सेनि यति धेरै सङ्ख्यामा मानिसको मृत्यु भए पनि भारतमा सर्पदंशको बोझसँग जुध्न कुनै राष्ट्रिय रणनीति छैन,” भौमिकले भने ।
“सर्पदंश रोक्न र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन राष्ट्रिय रणनीतिको खाँचो छ । उनले भने, “सर्पदंश रोकथामका लागि सामान्य चेतनामूलक कार्यक्रमभन्दा बढी गर्नु आवश्यक छ ।”(रासस\सिन्ह्वा)
वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:१८ मा प्रकाशित





























