
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले शुक्रबार कपिलवस्तुमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।
विप्लवले नेपालमा अहिले अभ्यास भइरहेको संघीयताभन्दा जनताको समानुपातिक संघीयताको खाँचो रहेको बताउँदै भने –’मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणामले अहिलेका दलहरूको औचित्य पनि सकिएको पुष्टि गरेको छ’, उनले भने, ’अझ बढ्दो आर्थिक संकटले मुलुक कमजोर अवस्थामा पुगिसकेको छ ।’
पछिल्ला दिनमा देश आर्थिक संकटमा पुगेकोप्रति औल्याउँदै महासचिव विप्लवले देशमा विशेष आर्थिक कार्यक्रम नल्याउने हो भने देश श्रीलंकाभन्दा ठूलो संकटमा जाकिने समेत उनले बताए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पार्टीसँग गरेको गरेको तीनबुँदे सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै उनले रोष प्रकट गरेका थिए ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा विप्लव लगायतका केही साना पार्टीले निर्वाचन वहिष्कार गरेका थिए ।