काठमाडौं । नेकपा विभाजनपछि पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ । बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको लागि आयोजित शपथग्रहण कार्यक्रममा तीन नेताबीच जम्काभेट भएको हो ।
भेटका क्रममा तीन जना नेताबीच भलाकुसारीसमेत भएको थियो । तीन नेताबीच के कुराकानी भयो भन्ने बाहिर नआएपनि कुराकानीलाई अर्थपूर्णं मानिएको छ ।
नेकपा विभाजनपछि पहिलोपटक तीन नेताबीच यसरी भेट भएको हो । नेकपा विभाजनसँगै तीनै नेता फरक–फरक पार्टीमा मात्रै छैनन् सहकार्यसमेत गरेका छैनन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि एमाले एकातिर र माओवादी र एकीकृत समाजवादी अर्कोतिर थिए ।
सहकार्यको सम्भावना कति ?
प्रतिनिधिसभाको निर्वाचनको परिणाम आउँदै गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच फोन संवाद भएको थियो । ओलीले सहकार्यको समेत प्रस्ताव गरेका थिए ।
तर, त्यसयता नेताहरुबीच सहकार्यको विषयमा छलफल हुन सकेको छैन । माओवादी र एकीकृत समाजवादी सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने लाइनमा छन् भने एमाले सत्ता गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने प्रयासमा छ । एमालेले माओवादीसँगै कांग्रेससँग पनि सहकार्यको प्रस्ताव गरेको छ ।
राष्ट्रपतिले नयाँ सरकार गठनको लागि समयसीमा नै तोकेकी छिन् । तर, समयसीमाभित्र वाम गठबन्धन बन्ने सम्भावना देखिन्न । किनकी अहिलेसम्म नेताहरुबीच सौहार्दपूर्णं रुपमा छलफल हुन सकेको छैन् ।
एमालेभित्रको एउटा पंक्ति र माओवादीभित्रको एउटा पंक्ति वाम गठबन्धन बनाउने पक्षमा देखिएपनि मुल नेतृत्वका बीच त्यसरी छलफल हुन सकेको छैन् । तथापी, बुधबार शीतलनिवासमा भएको भेटलाई भने अर्थपूर्णं मान्न सकिन्छ ।
वि.सं.२०७९ पुस ६ बुधवार १७:५२ मा प्रकाशित






























