टीकापुर, कैलाली । टीकापुर सरोकार समुहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले उत्कृष्ट पाठकलाई पुरस्कार वितरण गरेको छ ।
टीकापुर सामुदायिक पुस्तकालयमा आइ अध्ययन गर्ने महिना भरिको एक उत्कृष्ट पाठकलाई रु. दशहजार नगद पुरस्कार सहित सम्मान पत्रले यहि मंसिर महिनादेखि पुरस्कृत गर्न थालेको हो ।
बिहीबार टीकापुर सामुदायिक पुस्तकालयमा आयोजित एक बिशेष कार्यक्रममा टीकापुर पोलिटेकनिक इन्सिट्युटका उपेन्द्र चौधरीलाई मंसिर २०७९ का लागि उत्कृष्ट पाठकको रु दशहजार नगद सहित सम्मान पत्र प्रदान गरिएको हो ।
पुरस्कृत चौधरीलाई टीकापुर नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष मोहन बिक र वरिष्ठ शिक्षाविद यज्ञमुर्ति अर्यालले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी र टीकापुर सरोकार समुहका सचिव नवराज भट्टराईले पुरस्कारको औचित्यमाथि धारणा प्रस्तुत गरेका थिए ।
सरोकार समुहका सचिव नवराज भट्टराईका अनुसार पुस्तकालय र समुहको सहकार्यमा आगामी एबर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिनेछ । मंसिर २०७९ को पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको थियो ।
वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०४ मा प्रकाशित






























