काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’को टिजर बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।
समारोहमा यो फिल्मको टिजर हेर्ने क्रममा सबैले हलिउडको युद्ध सम्बन्धि फिल्मको टिजर हेरेको जस्तो लागेको प्रतिक्रिया दिए । सिनेमाको टिजरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।
यो चलचित्रलाई भर्सटाईल निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । निर्देशक चाम्सले पहिलोपटक बीर गोर्खालीको युद्ध कथालाई जादुई रुपमा गोर्खा वारियरमार्फत् कुशलता पूर्वक ससक्त रुपमा उतारेको सञ्चारकर्मीहरुले बताए ।
युद्ध सम्बन्धि सिनेमाको यो टिजर हलिउडको कुनै वार मूभिको भन्दा कम नभएको र अन्तराष्ट्रियस्तरको फिल्म बनेको फिल्मको टिजर हेरेपछि दर्शकहरुले कमेन्ट गरेका थिए ।
शसस्त्र प्रहरी बल नेपालका पूर्व आईजिपी शैलेन्द्र खनाल ‘सरद’ले आफु पनि सेवामा रहँदा युद्धलाई निकै नजिकबाट देख्न र भोग्न पाएको तर यत्ति राम्रो युद्धको दृष्य नेपाली फिल्ममा पहिलोपटक देखेको बताए । साँच्चै अन्तराष्ट्रिय स्तरको यो फिल्मको टिजर बनेको पनि उनले बताए ।
निर्देशक मिलन चाम्सले विश्वमा परिचित गोर्खा सैनिकले पहिलो बिश्वयुद्ध देखि अहिलेसम्म धेरैवटा युद्ध लडेको स्मरण गराए । उनीहरुसँग कैयौं युद्धसँगै पारिवारिक मार्मिक कथा भएको र त्यो मध्य एउटा बास्तविक कथालाई यसपटक पर्दामा उतारेको चाम्सले कार्यक्रममा बताए । पहिलोपटक आफुले यो फिल्मलाई नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा अन्तराष्ट्रिय रुपमा तयार गरेको पनि उनले जानकारी गराए ।
निर्देशक चाम्सका अनुसार सन् १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । टिजरमा पनि सोही युद्धको झलक प्रस्तुत गरिएको उनले प्रकाश पारे ।
यस अघि चलचित्रको फस्ट लुक्सले चर्चा कमाएको थियो । अहिले टिजरलाई दर्शकले त्यत्तिकै मन पराएकोमा निर्देशक चाम्सले खुसी व्यक्त गरेका छन् ।
यस अघि नौ वटा सफल चलचित्र निर्देशन गरिसकेका चाम्सले यसपटक बृटिस गोर्खा सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा ल्याउन लागेको बताए । आगामी जुनमा यो चलचित्रलाई बेलायतमा १० हजार दर्शकमाझ विशेष प्रदर्शन गर्ने पनि उनले जानकारी गराए ।
वि.सं.२०७९ पुस ८ शुक्रवार १५:०९ मा प्रकाशित






























