काठमाडौं । नयाँ सरकार गठनका लागि सत्ता साझेदार दलहरुबीचको वार्ता असफल भएको छ । वार्ता असफल भएसँगै नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट बाहिरिँदा माओवादी केन्द्रले ‘वार्ताको औचित्य सकिएको’ प्रतिक्रिया दिएको छ ।
माओवादीले अब एमालेसँग वार्ता गर्ने भएको छ । बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खुमलटारको छोटो बसाईं पछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । त्यहाँ माओवादी केन्द्रका महासचिव देव गुरुङ यसअघिदेखि नै छलफलमा थिए । अब एमाले र माओवादीबीच सत्ता समिकरणबारे वार्ता हुनेछ ।
बालुवाटार बैठक पछि सत्ता गठबन्धन टुटेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार गठबन्धन जोगिन सकेन । “हामीले गठबन्धन जोगाउन सकेनौं, अब हाम्रो हातमा रहेन”, पौडेलले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन् ।
वार्ता असफल हुनुको कारण राष्ट्रपति र प्रधानमन्त्री पदको बाँडफाँट रहेको पौडेलले बताए ।
सत्ता गठबन्धन भाँडिएसँगै अबको समीकरण को–कोबीचमा बन्न सक्छ यकिनपूर्वक भन्ने अवस्था छैन । राजनीति थप अन्योलतमा गएको देखिन्छ ।
सम्बन्धित समाचार
वि.सं.२०७९ पुस १० आइतवार १४:१८ मा प्रकाशित






























