काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर २ हजारको बिन्दुमाथि पुगेको छ । सेयर बजार परिसूचक (नेप्से) ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ ।
सेयर बजार यसअघि भदौदेखि दुई हजार मुनि थियो । सरकार परिवर्तनसँगै बढेको सेयर बजारमा उत्साह देखिएको हो । निरन्तर ओरालोमा देखिएको बजार गत सोमबारदेखि बढ्न थालेको हो । बिहीबार १८६७ अंकमा रहेको सेयर बजार एक साताको बीचमा १६१.८२ अंकले बढेर २०२९.०३ बिन्दुमा पुगेको छ ।
सेयर कारोबार रकम पनि निक्कै बढेको छ । प्रायजसो एक अर्ब मुनि रहेको बजार अहिले तीन अर्ब हाराहारीमा कारोबार भइरहेको छ ।
बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
हिमालय उर्जा विकास, सानीमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यता, धौलागिरि लघुवित्तको ९.९९ प्रतिशतले मूल्यवृद्धि भएको हो ।२०८ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६ कम्पनीमा ओरालो लागेको छ ।
आज सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनी ५.३८ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर ४.९२ र निर्जीवन बिमा ४.३९ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम म्युचुअल फन्ड १.४१ र बैंकिङमा १.८२ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।
वि.सं.२०७९ पुस १४ बिहीवार १६:१९ मा प्रकाशित


























