
सुर्खेत । सत्तारुढ गठबन्धनदलबीच कर्णाली प्रदेशको मन्त्रालयको भागबन्डाको टुंगो लागेको छ ।
माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा विश्वासको मत पाए लगत्तै सत्ता गठबन्धन दलभित्र मन्त्रालय बाँडफाँटको टुंगो समेत लागेको हो ।
मंगलबार बसेको प्रदेशस्थित सत्ता गठबन्धन दलको बैठकले मन्त्रालय भागबन्डाको विषयमा टुंगो लगाएको हो । जसमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेका भागमा आर्थिक सहित तीन मन्त्रालय परेको छ ।
सहमति अनुसार माओवादी केन्द्रको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।
त्यसैगरी एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको बताइएको छ ।