
काठमाडौं । गण्डकी प्रदेशमा थप तीनमन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेशमा मंगलबार थप तीन मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । थपिएका तीन मन्त्रीमा नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा –आन्तरिक मामिला तथा कानुन) र बेदबहादुर गुरुङ (कृषि, उर्जा तथा जलश्रोत), रहेका छन् भने माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली ( उद्योग, पर्यटन, वन तथा वातावरण) रहेका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबारै तीनैजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण खुवाएका हुन् । यो संगै गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्री मण्डल बनेको छ ।
यसअघि एमालेकै तर्फबाट पहिलोपटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।