काठमाडौं । मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
भण्डारीका दाजु मीन प्रसाद भण्डारीका अनुसार सोमबारदेखि उनी बिना सर्पोट बस्न सकेको र सामान्य खाना पनि खान दिइएको छ ।
उनका दाजु मीन प्रसादले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भने –‘अनुहारको छाला राम्रोसँग पलाएको छ । सर्जरी गर्न नपर्ने भएको छ । स्वास्थ्यमा राम्रो सुधार भईरहेको छ । ग्राफ्ट गरेको छालाले राम्रोसंग काम गरेको छ तर पूर्ण निको हुन समय लाग्नेछ । आज पहिलोपटक सपोर्ट विना केही समयका लागि बस्नु भयो । तेस्रो ड्रेसिंग पछि हिडडुल शुरु गराउने योजना रहेको छ ।’
उनका अनुसार फिजियोथेरापी क्रमिकरुपमा भई रहेको छ भने संक्रमण रोक्नका लागि अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा रोक लगाएका छन् ।
गत फागुन ४ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिण्डर दुर्घटनामा परेर गम्भीर घाईते भएका भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टर, नबी मम्बई, महाराष्ट्रमा ३३ दिनदेखि उपचार भइरहेको छ ।
उक्त दुर्घटनामा परेर भण्डारीकी आमा हरिकला भण्डारीको फागुन ५ गते किर्तीपुरस्थित बर्न सेन्टरमा उपचारकै क्रममा निधन भएको थियो ।
वि.सं.२०७९ चैत ७ मंगलवार ०८:०६ मा प्रकाशित






























