काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनबिच पेट्रोलियम पदार्थको खरिद–बिक्रिमा डिजिटल कारोबार गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइरालाले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा बैंकका उच्च अधिकारी तथा एसोसिएसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्झौता पश्चात एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पिओएस क्यूआरलगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोगगरी ग्राहकलाई बिक्री गरेको पेट्रोलियम भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका सिईओ कोइरालाले ग्रिन इकोनोमिलाई टेवा पुर्याउने बैंकको रणनीति अनुरुप बैंकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए ।
उनले वास्तविकरुपमा डिजिटल्ली स्र्माट बैंक बन्ने दीर्घकालिन लक्ष्यकासाथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको अवगत गराए ।
त्यस्तैगरी एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्वको तेल खरिद–बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
उनले पेट्रोलियम पदार्थको बिक्री गर्ने विक्रेता एंव खरिदकर्ता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसंगको सम्झौता पश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफु विश्वस्त रहेको बताए ।
सम्झौता पश्चात बैंकले विभिन्न चरणमा एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु सञ्चालन गर्नेछ । माछापुच्छ्रे बैंकले डिजिटल सेवा प्रदान गरेसंगै दैनिकरुपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरुमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुने विश्वास लिएको बैंकले विश्वास लिएको छ ।
माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाईृ बढावा दिने उद्देश्यकासाथ विभिन्न समयमा विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ । सोहि अन्र्तगत हाल बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पोस वा ई–कमबाट भुक्तानी गर्ने सेवाग्रहीले २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउनेछन् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागु हुनेछ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
वि.सं.२०७९ चैत ८ बुधवार १२:५० मा प्रकाशित






























