काठमाडौं । विदेशमा रहेका श्रमिकहरु पनि सामाजिक सुरक्षा योजनामा आबद्ध हुनसक्ने भएका छन् । बुधबार एक कार्यक्रमका बीच सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा भएका श्रमिकहरुलाई पनि आबद्ध बनाउने बाटो खुलाएको हो । उक्त कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई सामाजिक सुरक्षा योजना जोड्ने काम सुरु भएको बताए ।
“विदेशमा रहनु भएका सबै दिदीबहिनी दाजुभाइहरू सामाजिक सुरक्षामा जोड्न र देशसँग जोड्न राज्य यहाँहरूसँगै छ भन्ने भावना दिलाउन पाएकोमा खुसी छु, अनौपचारिक क्षेत्रमा समेत सामाजिक सुरक्षाको व्यवस्था गर्ने सोचिएको छ”, घोषणासभामा प्रचण्डले भने, “यसको कार्यान्वयनमा सहयोग गर्न सबैलाई आह्वान गर्दछु ।”
सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनासमेत अघि सारेको प्रचण्डले सुनाए । “अहिले परिस्थितिवश, बाध्यतावश बिदेसिनु परे पनि ती सबै नेपालीहरूप्रति उत्तिकै माया र सद्भाव छ, जहाँ रहे पनि नेपालको अर्थतन्त्रलाई योगदान पुर्याउनु भएको छ, देशको विकासमा योगदान पुर्याउनु भएको छ” प्रचण्डले भने, “हामीलाई विभिन्न माध्यमबाट झकझकाउनु भएको छ, बेलाबेला खबरदारी गर्नु भएको छ ।”
सरकारले गत मंसिर २५ गते नै वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारका रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि जारी गरेको थियो । निजी क्षेत्रका श्रमिक र रोजगारदातालाई समेट्ने योजना सहित २०७५ मंसिर ११ गतेदेखि शुरु भएको कोषले आफ्नो दायरा बढाउँदै बुधबारदेखि विदेशमा रहेका श्रमिकहरुलाई समेत कोषमा आवद्ध हुनसक्ने बाटो खुला गरेको छ ।
कसरी जोडिने सुरक्षा योजनामा ?
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा नै स्वरोजगारमा रहेका व्यक्तिले कोषले नियमावलीअनुसार सूचीकृत हुन सक्नेछन् । जसको लागि उनीहरुले अनलाइन प्रणालीबाट निवेदन दिनुपर्नेछ ।
आफ्नो नागरिकता वा राहदानीको प्रतिलिपि र श्रम स्वीकृतिको प्रतिलिपि सहित श्रमिकले काम गर्र्ने देश र कम्पनीको विवरण पेश गर्नुपर्नेछ । श्रमिकले निवेदनमा के–के विवरण पेश गर्ने भन्ने कुरा अनुसूचिमा व्यवस्था गरिएको छ ।
साथै, स्वरोजगारमा रहेका व्यक्तिहरुले पनि आफ्नो पेशा सम्बन्धी विवरण सहितको विवरण भर्नुपर्ने हुन्छ । अनुसूचिअनुसारको अनलाइन फारम भरेर कोषमा सूचिकृत भइसकेपछि मासिक रुपमा बचत गर्ने योगदान रकम पेश गर्नुपर्ने हुन्छ । यसरी सूचिकृत हुँदा सरकारले औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत अर्थात् २ हजार २ रुपैयाँ योगदान गर्नुपर्नेछ ।
साथै, त्यसको बढीमा तीन गुणा बढी रकम पनि जम्मा गर्न सक्नेछन् । विदेशमा रहेका श्रमिक वा व्यक्ति सूचिकरण भइसकेपछि कोषले पनि अनलाइनमार्फत नै परिचयपत्र उपलब्ध गराउने छ ।
सूचिकृत भइसकेपछि वैदेशिक रोजगारमा रहेका श्रमिक वा व्यक्तिले कोषमार्फत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत सेवा प्राप्त गर्न सक्नेछन् । श्रमिक वा व्यक्तिले जम्मा गरेको रकमलाई कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत बाँडफाँट गर्नेछ ।
तोकिएको सुविधा प्राप्त गर्नको लागि योगदानकर्ताले घटना घटेको मितिभन्दा अघिको १२ महिना मध्ये कम्तीमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनु पर्ने व्यवस्था रहेको छ । साथै कोषबाट सुविधा प्राप्त गर्न योगदानकर्ताले वैदेशिक रोजगारी वा विदेशको स्वरोजगार अन्त्य गरी नेपाल फर्किएको हुनु पर्नेछ ।
योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण लिने मध्ये कुनै एउटा विकल्पको छनोट गर्न सक्ने व्यवस्था समेत रहेको छ ।
वि.सं.२०७९ चैत ८ बुधवार १३:०९ मा प्रकाशित






























