
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नारा लगाएपछि जेल चलान गरिएका तीन युवालाई तत्काल रिहा गर्न माग गरेका छन् ।
गत चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सम्बन्धी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नारा लगाएका तीन युवालाई जेल चलान गरिएपछि शर्माले रिहाइको पहल गर्न माग गरेका हुन् ।
‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो !, शर्माले ट्विट गर्दै भनेका छन्, ‘ सम्माननिय प्रधानमन्त्रीज्यु ! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न ÷ गराउन अविलम्ब पहलको माग गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि थुनामा रहेका बाग्लुङका ३० वर्षीय सोम शर्मा, सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत र बझाङका १८ वर्षीय विप्लव खड्कालाइ अभद्र व्यवहार मुद्दामा चैत १२ गते ५÷५ हजार धरौटी तोकिएपनि उनीहरुले धरौटी नबुझाएपछि जेल चलान गरिएका थियो ।