कनकधारा स्वामी स्वदेशानन्द
गुवाहाटी, असम
झुल्कन्छन् हिमशैलबाट पहिले श्रीसूर्यनारायण,
शोभायुक्त भएर पूर्वतिरको देखिन्छ प्यारो वन ।
‘आयो रे ! नव वर्ष लौ अब’ भनी प्राणीहरू रम्दछन्,
हाम्रै यो नव वर्षको सब गरौं सुस्वागतम्! स्वागतम् ।।०१।।
हेर्दा पर्वत यो सुवर्णमयभै देखिन्छ राम्रो कति,
साथैमा वनका लता विटप यी प्रेमी झुलेका हकि !
यो राम्रो वनमा समस्त जगका प्यारा र प्यारी घुमून्,
हाम्रै यो नव वर्षले मुलुकमा हाम्रो गरोस् मङ्गलम् ।।०२।।
यो वैशाख समग्र विश्वभरि नै सद्भाव छर्नेगरोस्,
यो वैशाख सधैं–सधैं भुवनमा उद्योग–आभा छरोस् ।
नेपाली अनि भारतीय जनले दुर्भाव मेट्नेगरून्,
हाम्रै यो नव वर्षको सब गरौं सुस्वागतम् ! स्वागतम् ।।०३।।
राम्रो साल बितोस् समस्त जनमा सद्भावना फैलियोस्,
शिक्षा क्षेत्र बढोस् युवा सकलमा तेजस्विता देखियोस् ।
नेपाली अनि भारतीय जनता यो विश्व हाँक्नेगरून्,
हाम्रै यो नव वर्षले भुवनमा हाम्रो गरोस् मङ्गलम् ।०४।।
खेती धेर हऊन् समस्त जगमा हून् अन्नदायी धरा,
बाला मात्र झुलून् मधेशभरि नै हून् शस्यशाली गरा ।
आफ्नै जाति र देशका कृषकमा सम्बर्धना अर्पियौं,
हो हाम्रै नव वर्ष यो सब गरौं सुस्वागतम् ! स्वागतम् ।।०५।।
हावा स्वच्छ बगोस् समस्त जगमा आरोग्यता देखियोस्,
भोका पेट नहून् सधैंभरि कतै नग्नत्व ट्याक्कै नहोस् ।
राम्रा भावहरू लिएर जनता उद्योग गर्नेगरून्,
हाम्रै यो नव वर्षले भुवनमा हाम्रो गरोस् मङ्गलम् ।।०६।।
पानी ठिक्क परोस् हिमालतिरको बाटो सधैं खोलियोस्,
यात्री आइरहून् पहाड़भरि नै पेशा सबैको चलोस् ।
हेर्ने चाह लिएर पर्यटकले सर्वत्र घुम्नेगरून्,
यो हाम्रै नव वर्षको सब गरौं सुस्वागतम् ! स्वागतम् ।।०७।।
उल्कापात नहून् सबै मुलुकमा स्वच्छन्द–साम्राज्य होस्,
पैह्रो–भेल नहून् कुनै मुलुकमा भूकम्प–पीड़ा नहोस् ।
सारा मानव जाति विश्वभरि नै एकात्म खोज्नेगरून्,
यो हाम्रै नव वर्षले मुलुकमा हाम्रो गरोस् मङ्गलम् ।।०८।।
जम्मै देश–विदेशको मुलुक वा भूटान बर्मा जति,
लङ्का भारत पाक चीन जति छन् जम्मै छिमेकी प्रति ।
मैत्री भाव रहोस् सदैव कटुता त्यागेर हिँड़्ने गरौं,
हो हाम्रै नव वर्ष यो सब गरौं सुस्वागतम् ! स्वागतम् ।।०९।।
ठूला शासकमा र आम जनमा एकात्मता देखियोस्,
मन्त्रीमा र विभागका सचिवमा मैत्रीयता झल्कियोस् ।
जम्मै शासकले स्वदेश–हितमा सत्कार्य गर्नेगरून्,
हाम्रै यो नव वर्षले मुलुकमा हाम्रो गरोस् मङ्गलम् ।।१०।।
खेलै मात्र ठुलो हुने यदि भए मासेर बारीहरू,
खेल्ने काम गरौं सबै जनहरू पैसा कमाऔं बरू ।
पैसामात्र बटल्नु ध्येय गरिनू यो मन्त्र मान्नेगरौं ?
हो हाम्रै नव वर्ष यो सब गरौं सुस्वागतम् ! स्वागतम् ।।११।।
आतङ्की गतिमाथि अङ्कुश रहोस् यो वर्ष विश्वैभरि,
आतङ्की गति मेट्न तत्पर रहोस् यो देश वर्षैभरि ।
आतङ्की गतिका त कारणहरू यो वर्षमा खोजिऊन्,
यो हाम्रै नव वर्षले मुलुकमा हाम्रो गरोस् मङ्गलम् ।।१२।।
छन्द ः शार्दूलविक्रीडित
वि.सं.२०८० वैशाख २ शनिवार ०८:४२ मा प्रकाशित






























