back
CTIZAN AD

अर्थतन्त्रलाई कसरी ल्याउने लयमा ?

वि.सं.२०८० वैशाख १५ शुक्रवार

972 

shares

अहिले नेपालको अर्थतन्त्र चुनौतीको चाङमा छ । हाम्रो अर्थतन्त्र अत्याधिकरूपले परनिर्भर हुँदैछ । आन्तरिक उत्पादन अत्यन्तै न्यून छ । अधिकांश पुँजी जग्गाजस्तो अनुत्पादक क्षेत्र र व्यापारजस्तो मूल्य अभिवृद्धि न्यून हुने क्षेत्रमा प्रवाह भएको छ । देशले एक वर्षदेखि सामना गरिरहेको गम्भीर अवस्थाको अर्थतन्त्रको संरचना नेपाल आफैले विकास गरी समृद्ध हुन सक्ने स्थिति देखिँदैन । देशमा पुँजीगत खर्च लक्ष्यअनुसार कहिल्यै हुन सकेको छैन । चालु खर्च पनि धान्न नसक्ने राजस्व संकलनको स्थिति अहिले छ । १७ खर्बभन्दा बढी बजेट भएको हाम्रो देशमा चालु खर्च मात्रै १२ खर्बभन्दा बढी छ, जसमा कुल राजस्व १० खर्बजति छ । विदेशी मुद्रा सञ्चिति दबाबमा रहेकाले नेपालको अर्थतन्त्र संकटमा जाने त्रास कायमै छ । आन्तरिक अर्थतन्त्रमा मन्दी देखिएको छ । यसले डरलाग्दो अवस्थाको संकेत गरेको छ ।

चिन्तनयोग्य पक्ष

पुँजीगत खर्च र राजस्वको अवस्था नाजुक छ । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरूमा दबाब कायमै छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम थुप्रिए पनि कर्जाको माग छैन । महँगो व्याजदर र लगानीमैत्री वातावरण नभएको कारण देखाई कर्जा माग भएको छैन । बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि र आन्दोलन गरिएको छ । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान एकतिहाइबाट घटेर २२/२३ प्रतिशतमा सीमित छ । पुँजीगत अर्थात् विकास खर्च २३ प्रतिशत मात्र छ । अनुदानदाता देशहरुबाट वैदेशिक सहायता घट्दै गएको छ । आन्तरिक ऋणको व्ययभार वार्षिकरूपमा बढ्दो छ । निर्यातको तुलनामा आयात बढी नै छ । आयातमा कर्जा बढ्नुको कारण उपभोग पनि बढ्यो । फलस्वरूप बैंकहरूमा रहेको तरलता घट्न गयो । कोभिड महामारीका बखत आवश्यकताभन्दा बढी सेवा–सुविधा प्रदान गर्दा अर्थतन्त्र नै धरापमा प¥यो । माग घटाउन व्याजदरमा वृद्धि गरियो । घट्दो माग र बढ्दो ब्याजको असरले बैंक तथा वित्तीय संस्थाको असुलीमै मार परेको छ । सुरुदेखि नै नीतिगत पक्षलाई कसिलो बनाउँदै लैजानुपथ्र्यो । पछि आएर एकैचोटी र एक्कासी कडाइ गर्दा अर्थतन्त्र संकुचनमा पुग्यो । समयमै सोच्न र गर्न नसक्नुको परिणाम हो यो ।

सुधारको सम्भावना

देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधारको लागि सरकारको प्राथमिकता रहेको छ । उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्थालाई सरकारको साझा न्यूनतम कार्यक्रममा समावेश गरिएको छ । कोभिडपछि थलिएको पर्यटन व्यवसायमा आशा पलाउन थालेको छ । सन् २०२३ को जनवरी, फेबु्रअरी र मार्चमा २ लाख २७ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हाल दक्षिण एसियामध्ये जनसंख्याको प्रतिशतका आधारमा पहिलो कोभिडविरुद्ध खोपको पहिलो डोज सबैभन्दा धेरै लगाउने देश नेपाल हो । विदेशी मुद्रा सञ्चिति घट्न नदिन अनावश्यक तथा बिलासी वस्तुहरूको आयातमा रोक लगाइयो । सरकारको खर्च बढ्न दिइएन । विप्रेषण बढाउन वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई आईपीओमा आरक्षण छुट्याउने काम गरियो । जलविद्युत्का लागि भारतीय बजार खोज्ने काम भयो । स्थानीय कच्चा पदार्थको प्रयोगबाट बनाइने सिमेन्टका लागि भारतीय बजार खोल्ने काम पनि गरियो । पेट्रोलियम पदार्थको खपत र आयात दुवै रोक्न नेपालतिर पेट्रोलियम पदार्थको भाउ सस्तो हुन रोकियो । वैदेशिक ऋणको वृद्धिदर रोकियो ।

पुँजीगत खर्चको भविष्यका लागि केही आशालाग्दा कामहरू भएका छन् । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलहरु सम्पन्न भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत तराईका सात वटा विमानस्थलको आधुनिकीकरण गर्ने र नयाँ टर्मिनल बनाउने काम अघि बढेको छ । चाँदनी दोधारामा ड्राइपोर्ट निर्माणले गति पक्रेको छ । राष्ट्रिय गौरवको पश्चिम सेती आयोजना र हेटौडा–रातमाटे– बुटवल ट्रान्समिसन लाइनलगायतका आयोजनाले गति लिन थालेका छन् । भैरहवा विशेष औद्योगिक क्षेत्रमा २४ वटा उद्योग स्थापना भएका छन् । सिमरामा १९ वटा उद्योगले स्थापना अनुमति लिइसकेका छन् । सडक यातायातको आधुनिकीकरण कार्यअन्तर्गत सिद्धबाबा, काठमाडौं–निजगढ फास्टट्रयाक, नागढुङ्गामा टनेलको काम भइरहेको छ । बलम्बुको ग्रेड सेपरेटेड इन्टरसेक्सनको काम गतिमा अघि बढेको छ । काठमाडौं–पोखरा सडक स्तरोन्नति, काँकडभिट्टा–गड्डाचौकी लोकमार्ग स्तरोन्नतिको काम पनि अघि बढेको छ ।

सुधारको उपाय

दिगो आम्दानी गर्न सकिने र नेपालका लागि राम्रो सम्भावना बोकेका क्षेत्रलाई गति दिन महत्वपूर्ण आयोजना निर्माण गरी स्रोतको व्यवस्थापन गर्दै अघि बढ्नुको विकल्प छैन । यसका लागि पुँजीगत बजेट वृद्धि गर्नुपर्छ । जनताको ‘सेन्टिमेन्ट’ राम्रो बनाउन सरकारको स्थायित्व महत्वपूर्ण पक्ष हुन्छ । राजनीतिक स्थिरताले मात्र आर्थिक सुधार सम्भव हुन्छ । स्थिर सरकारले नै बृहत् सुधारका कार्यक्रमहरू प्रभावकारी ढंगले अगाडि बढाउन सक्दछ । आर्थिक सुधारका लागि संकल्प र रणनीतिको जरूरत पर्दछ ।

१. स्रोत सुनिश्चितताका लागि विदेशी तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँग वार्तामार्फत पैसा ल्याउन सक्ने क्षमता बनाउनुपर्छ ।

२. ठेक्का लागिसकेका विकास आयोजनाहरुलाई बेलामै सक्ने ल्याकत राख्नुपर्छ ।

३. दुईतिहाइ जनसंख्या कृषिमा आधारित रहेकोले कृषि क्षेत्रको नाफा बढ़ाउन सक्नुपर्छ ।

४. पुँजीको उपलब्धता असहज भएका बखत विपन्न वर्गको उत्थानमा राज्यले बढी ध्यान दिनुपर्छ ।

५ भ्रष्टाचार रोक्नुपर्छ र सुशासनको प्रत्याभूति दिनुपर्छ ।

६. ठूलो संख्यामा बाध्यतावस हुनुपर्ने युवा पलायनलाई रोक्नुपर्छ ।

७. पुर्वाधार विकासका योजनालाई प्राथमिकता दिइनुपर्छ ।

८. देशको सीमित स्रोत तथा साधन निर्वाधरूपले खेर जान दिने गलत नीति तथा कार्यक्रमलाई रोक्नुपर्छ ।

९ नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो समन्वय र समझदारी हुनुपर्छ ।

१०. आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रको भूमिकालाई प्रभावकारी र अर्थपुर्ण बनाउनुपर्छ ।

११ नेपाल अन्तर्राष्टिय लगानीका लागि आकर्षित र सुरक्षित छ भनेर प्राविधिकरूपमै देखाउन मिल्ने वातावरण बनाउनु पर्छ ।

१२. खर्च कटौति र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त र दुरुस्त बनाउनु पर्छ ।

१३. राष्ट्रिय हितको रक्षा एवम् जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ ।

१४. बैकिङ्ग क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले पर्याप्त अनुगमन गर्न सक्नुपर्छ ।

१५. उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन र निर्यात व्यवस्थापन गर्नुमै जोड दिनुपर्छ ।

१६. भन्सारमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमुखी बनाउनुपर्छ ।

१७. राज्यले आर्थिक गतिविधि बढाउने गरी व्यवसायमा सहजीकरण गर्नुपर्छ ।

१८. सरकारले अनुदानमा आधारित बजेट र कार्यक्रम बनाउने काम गर्नुहुँदैन ।

१९. आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशा र गतिलाई पक्रन नेपालले युवा उमेर समूहका मानिसलाई स्वेदशमै काम गरेर रमाउन सक्ने वातावरण बनाउन सक्नुपर्छ ।

वि.सं.२०८० वैशाख १५ शुक्रवार ११:४० मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...