काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा एमालेका नेताहरुसँगै अख्तियार प्रमुख प्रेमकुमार राईको पनि नाम जोडिएको छ । आरोपितहरुको पछिल्लो बयानका आधारमा राई पनि पक्राउ पर्ने देखिएको छ । राईसमेत पक्राउ पर्ने देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । बिहीबार दिउँसो ओली प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
पूर्वमाओवादी नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी हुँदै गर्दा मौन रहेका ओली राईलाई समेत पक्राउ गर्ने तयारी भइरहेका बेला प्रचण्डलाई भेट्न पुगेका हुन् । तत्कालिन वाइडबडी प्रकरणमा समेत मुछिएका राई ओलीका प्रिय पात्र हुन् । राईसमेत मुछिँदा अख्तियार पनि आफ्नो पकडबाट गुम्ने देखिएपछि ओली प्रचण्डसँग भेट्न पुगेका हुन् ।
प्रचण्डसँगको भेटमा ओलीले पछिल्लो शरणार्थी प्रकरणको छानबिनप्रति असन्तुष्टि पोखेको बुझिएको छ । ओलीले प्रचण्डलाई अनुसन्धान एमालेविरुद्ध लक्षित भएको भन्दै आपत्ति जनाएको बुझिएको छ ।
याे पनि…
प्रचण्डलाई ‘चिडियाखानामा’ थुन्ने चेतावनी दिने बादल आफैं त थुनिन्नन् ?
प्रचण्डलाई भेटेर निस्किएका ओलीले पत्रकारसँगको कुराकानीमा पनि अनुसन्धान प्रक्रियामाथि प्रश्न गरेका छन् । “यो तानिएको हो कि तनाएको हो, हामी अध्ययन गर्दैछौं”, ओलीले भनेका छन्, “यो अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं । निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौं ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राई थिए यसअघि गृहसचिव थिए । उनी २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवको जिम्मेवारीमा थिए । हाल पक्राउ परेका केही आरोपीले राईमाथि समेत बयानका क्रममा संलग्नताबारे बोलेको अनुसन्धानमा संलग्न स्रोतले बताएको छ ।
पक्राउ परेका आरोपीले आफूले राई गृहसचिव हुँदा राई चढ्ने कारको पछाडिको डिक्कीमा नगद राखेको र त्यसपछि भेट्ने गरेको बयान दिएका छन् । यद्यपि उक्त बयानबारे प्रहरीले थप अध्ययन गर्दैछ ।
सम्बन्धित समाचार
एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई काठमाडौं ल्याइदैंं
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक थापा भन्छन् – मेरो कुनै संलग्नता छैन
भुटानी शरणार्थी प्रकरण : पूर्व गृहसचिव टेकनारायण पाण्डे पक्राउ
भुटानी शरणार्थी प्रकरण : बादलका सुरक्षा सल्लाहकार पक्राउ
वि.सं.२०८० वैशाख २१ बिहीवार १५:३४ मा प्रकाशित






























