लक्ष्मी स्मृति, बिराटनगर
१
केवल शब्दहरु थोपरेर तारा झार्ने भए
आशैआशमा सारा जीवन त्यसै टार्ने भए
वल्लो घाट न पल्लो तीर भए यता जनता
उता नेताले देश चुस्दै खत्तम पार्ने भए ।
२
दाउ पर्यो कि पेल्ने सँग के कुरा गर्नु
खाडल तिर ठेल्ने सँग के कुरा गर्नु
बोली हुन्छ एकातिर काम अर्कोतिर,
भावनासँग खेल्ने सँग के कुरा गर्नु ?
३
तिमी सँगै बाँच्छु र तिमी सँगै मर्छु भनेर
तिम्रा सारा रहर, सपना म भर्छु भनेर
नाम जप्दै अचेत भाछ बौरिन्छ कि ऊ
एउटा झुट बोलिदेऊ न मायाँ गर्छु भनेर ।
४
लागिरहन्छ साह्रै नै विरह सुन्ने कोहि छैनन्
पोखुँ भने पनि मनको बह सुन्ने कोहि छैनन्
विकटता छ, घरबार छैन, भोग्नु पर्छ सास्ती
जति सुकै हुन् सरकारी तह सुन्ने कोहि छैनन् ।
५
जहिल्यै अर्कैको पछि लागेर रमाई कसरी जीवन चल्छ
तास,जुवाको खालमा अड्डा जमाई कसरी जीवन चल्छ
ताल यस्तै रहिरहे बाबुको धनले दुई, चार बर्ष त थेग्ला,
त्यसपछि हुदैन कुनै पनि कमाई कसरी जीवन चल्छ ।
वि.सं.२०८० वैशाख २३ शनिवार ०८:५१ मा प्रकाशित






























