काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतका सूचना अधिकारी दीपक दाहालले सञ्चारमाध्यमलाई बताएअनुसार अनुसन्धानका लागि रायमाझीलाई तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हाे ।
प्रहरीले रायमाझीलाई आइतबार साँझ प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । रायमाझी आफुविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै फरार थिए । प्रहरीले उनीविरुद्ध वैशाख २०मा पक्राउ पुर्जी जारी गराएको थियो ।
अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । फरार अवस्थामै रायमाझीले संसद सचिवालयलाई बिरामी भएको पत्र पठाएका थिए ।
उनको पत्रपछि प्रहरीले थप खोजीलाई सक्रियतापूर्वक अगाडि बढाएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएमध्येका तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज भने हालसम्म पनि फरार छन् ।
सम्बन्धित समाचार
वि.सं.२०८० जेठ १ सोमवार १७:०५ मा प्रकाशित






























