काठमाडौं । निरन्तर बृद्धिपछि नेप्सेमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । गत जेठ २ देखि नेप्से निरन्तर उकालोमा थियो । योबीचमा १०२ अंकको बृद्धि भएको थियो ।
तर, आइतबार ३६ अंकको उतारचढावपछि बजार १७.३८ अंकले घट्दै बन्द हुनपुग्यो । आइतबार कारोबार रकम भने साढे तीन महिना यताकै सर्वाधिक बढी भएको छ । ७० लाख ५० हजार बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ९६ लाख बढीको कारोबार भयो ।
आइतबार सबैभन्दा बढी सिबम् सिमेन्ट, एनटिसी, सोल्टी होटेल, चिलिमे हाइड्रो पावर, नेपाल इन्फ्रास्टक्चर बैंकलगायतको कारोबार उच्च रह्यो । आइतबार ४४ कम्पनीको मूल्य बढ्दा १७४ कम्पनीको मूल्यमा गिरावट आएको छ ।
तर, आइतबार मर्जरपछि कारोबार रोक्का भएको युनियन लाइफ इन्सुरेन्सको पनि कारोबार भएको छ । जुन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । नेप्सेले जसबारे छानबिन गरिरहेको जनाएको छ ।
आइतबार धेरै कम्पनीका मूल्य घट्दा पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल युनिलिभिर लिमिटेडको ७.१८ प्रतिशतले मूल्य बढेको छ भने एनएमबी डिबेन्चरको ६.०१ र चिलिमे हाइड्रोको ५.९९ प्रतिशतले मूल्य बढेको छ ।
आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड र उत्पादनमूलक उपसमूहतर्फका कम्पनीको मूल्यमा बृद्धि भयो भने अन्यको मूल्यमा गिरावट आयो । निर्जिवन र जीवन बीमा उपसमूहमा सबैभन्दा बढी गिरावट आएको छ ।
वि.सं.२०८० जेठ १४ आइतवार १५:२७ मा प्रकाशित





























