back
CTIZAN AD

प्रश्नमा न्यायालयभित्रको नियुक्ति

वि.सं.२०८० जेठ २२ सोमवार

1.1K 

shares

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था

नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिने व्यवस्था गर्दै धारा १२९ मा संवैधानिक परिषदको सिफारिसमा प्रधानन्यायाधीशको र न्यायपरिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था गरेको छ । यसैगरी प्रधानन्यायाधीशले न्याय परिषद्को सिफारिसमा उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरुको नियुक्तिको संवैधानिक व्यवस्था गरेको छ । संविधानको धारा १२९ ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुनसक्ने आधारहरू, धारा १४० ले उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुनसक्ने आधारहरू र धारा १४९ मा जिल्ला अदालतको न्यायाधीश पदमा नियुक्ति हुनसक्ने आधारहरूको व्यवस्था गरेको छ ।

अदालतमा न्यायाधीशको संख्यात्मक उपस्थिति

संविधानको धारा १२९ ले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अतिरिक्त बढीमा २० जना न्यायाधीश रहने संवैधानिक व्यवस्था गरेको छ । हाल सर्वोच्च अदालतमा पाँच जना न्यायाधीशको दरबन्दी रिक्त रहेको छ भने बहालरत १६ जनाको दरबन्दीमध्ये कानून व्यवसाय वा कानूनविदका रूपमा सर्वोच्च अदालतमा प्रवेश गरेका न्यायाधीशको संख्या आठ जना र क्याडरबाट आउनु भएका आठ जना हुनुहुन्छ ।

उच्च अदालतमा बढीमा १६० जना न्यायाधीश रहने कानूनी व्यवस्था रहेकोमा मिति २०८०/०२/१० गतेसम्मको अवस्थामा ४६ जना न्यायाधीशको दरबन्दी रिक्त रहेको छ भने २०८० सालभित्र थप १८ जना न्यायाधीश रिक्त हुने अवस्था छ । बहालरत ११४ जनाको दरबन्दीमध्ये कानून व्यवसाय वा कानूनविदका रूपमा उच्च अदालतमा प्रवेश गरेका ५९ जना र क्याडरबाट आउनु भएका ५५ जना हुनुहुन्छ । २०८० भित्र अवकास हुनेमा कानून व्यवसायीबाट आउनेको संख्या चार र क्याडरबाट आउनेको संख्या १४ देखिन्छ । जिल्ला अदालतमा भने न्यायाधीशको पाँचौं पटकसम्म परिक्षा हुँदासम्म एक जना पनि कानून व्यवसायीलाई सफलता हात पर्न सकेको छैन । सबै न्यायाधीशहरु क्याडरबाट नै आउनु भएको पाइन्छ ।

सर्वोच्च अदालत तथा उच्च अदालतमा अहिलेकै अनुपातमा नियुक्ति गर्ने हो भने आगामी चार वर्षभित्र क्याडरबाट आउने न्यायाधीशहरुको संख्या २० प्रतिशतभन्दा कममा सिमित हुन जाने तथ्यांकले देखाउँछ । क्याडरबाट अहिले उच्च अदालतमा रहनु भएका न्यायाधीशहरुमध्ये अधिकांश आगामी तीनदेखि चार वर्षभित्र अवकास हुने, जिल्ला अदालतबाट उच्च अदालतमा जाने न्यायाधीश पनि उमेरको उत्तरार्धमा मात्र जाने अवस्था विधमान देखिन्छ । सर्वोच्च र उच्च अदालतमा कानून व्यवसायीबाट पछिल्लो पटक नियुक्त न्यायाधीशको तथ्यांकलाई अध्ययन गरी हेर्दा, अधिकांश न्यायाधीशहरुको उमेर कम देखिन्छ । यस्तो अवस्थामा न्यायालय कतै प्रशासनिक क्षमता शून्य भएकाहरूको झुण्ड बन्ने त होइन ? छातीमा हात राखेर सोच्ने बेला भएको छ ।

प्रधानन्यायाधीशको नियुक्ति हुने गरेको चर्चा

न्यायका जानकार तथा कानूनविदहरुले पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्ति नभई प्रधानन्यायाधीशको नियुक्ति हुने गरेको चर्चा गर्दछन् । सर्वोच्च अदालतको नेतृत्व गर्नसक्ने क्षमता भएका कयौं योग्य, विषयविज्ञ, इमान्दार र निरन्तर पेशाप्रति समर्पित वरिष्ठ कानून व्यवसायी, कानूनविद र कर्मचारी हुँदाहुँदै प्रधानन्यायाधीश हुनसक्ने अवधीको हिसाब किताब गरी कनिष्ठको नियुक्ति गर्दा योग्य, क्षमतावान र विषयविज्ञ वरिष्ठहरुलाई न्यायाधीश नियुक्तिको बाटो नै बन्द हुन पुगेको चर्चा कानूनी क्षेत्रमा व्यापक छ ।

सर्वोच्च अदालतमा न्यायाधीश होइन सम्भावित प्रधानन्यायाधीशको नियुक्ति राजनीतिक भागवण्डाको आधारमा भएको कुरा घाम जस्तै छर्लङ्गै त छँदैछ, हामीले न्यायालयमा राजनीतिक हस्तक्षेप नहोस् भनेका छौं तथापी यसो हुन सकेको छैन । अदालत न्यायको मन्दिर हो । न्यायको मन्दिरमा प्रवेश गर्दा, न्यायाधीशहरू राजनीतिभन्दा माथि उठ्नुपर्छ । सिफारिस गर्ने राजनीतिक दल, फर्म र नातावाद, कृपावादभन्दा माथि उठि न्यायाधीश बन्नैपर्छ । न्यायाधीश हुनबाट छुट उनीहरूलाई छैन । न्यायीक समाजले पनि हिजोको परिचयका आधारमा हेर्न र मूल्यांकन गर्न हुँदैन। हिजो के थियो भनेर होइन अहिलेको आधारमा कस्तो भूमिका छ भनी मूल्यांकन गर्नुपर्ने हुन्छ । यहाँनिर विचारणीय कुरा हो कुनै पनि रूपको राजनीतिक हस्तक्षेप वा सिफारिसले न्यायालयमा प्रवेश नपाओस् ।

विकृति र विसंगतीको जड न्यायाधीश नियुक्ति

न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता वा बिचौलियाबाट हुनसक्ने क्रियाकलापको प्रमुख कारकतत्व न्यायाधीश नियुक्ति नै हो । न्यायाधीश नियुक्तिको सिफारिस गर्ने निकाय न्याय परिषद्ले कानूनले तोकेको मापदण्डभन्दा पनि मनोगत आधारमा गरेका सिफारिस नै विकृतिको कारण बनेको छ । नातावाद, कृपावाद, संरक्षणवाद, भागवण्डाका आधारमा सिफारिस गर्ने परिपाटीका कारण न्याय मर्ने अवस्थाको सिर्जना भएको पाइन्छ । अहिले फेरि न्यायाधीश नियुक्तिको चर्चा चलेको छ । यस अगाडीका न्यायाधीश नियुक्तिले विषय विज्ञ, वरिष्ठ कानून व्यावसायीलाई न्यायाधीशको रूपमा आउने बाटो बन्द जस्तै गरेको छ भने स्वाभिमानी कर्मचारीलाई पनि उच्च अदालतको न्यायाधीशभन्दा नाक खुम्चाउन पर्ने अवस्थाको सिर्जना गरेको छ । अघिल्लो दिनसम्म वरिष्ठतम् वारिसका रूपमा अदालतमा तारिख लिँदै आउनुभएका कतिपय विद्धानहरूलाई अर्को दिन माननीय भन्नुपर्दाको पीडा तारिख तोक्ने कर्मचारीलाई र वारिस राख्ने कानून व्यवसायीलाई कति परे होला; साँच्चै अनुमान लगाउन पनि गार्हो पर्ला । यसका अलवा सडकमा न्यायाधीशको तहगत मूल्य तोकेको सुनिन्छ । विचौलियाहरू हरेक पटक दररेट अली बढ्ने गरेको गुनासो गर्छन् । यसतर्फ न्यायपरिषदको ध्यान समयमै जाओस् ।

न्यायाधीश र कानून व्यवसायीहरुको धारणा

न्यायाधीश नियुक्तिको पछिल्लो श्रृंखला हेर्दा नेपाल बार यसमा हावी देखिन्छ । तथापी बार एशोसिएसन र न्यायक्षेत्र सुद्धिकरण अभियानको कुरा सुन्दा र हेर्दा कानून व्यवसायीको संस्थाभन्दा पनि व्यक्ति हावी भएको भन्ने पाइन्छ । न्यायालयमा राजनीतिको आधार र कभरमा व्यक्तिको प्रवेशले कानून व्यवसायीको नुर गिरेको भन्ने प्रश्न उठेको छ । यो गम्भिर विषय हो ।

न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनदेखि नै सर्वोच्च अदालत र मातहत उच्च अदालतको न्यायाधीश नियुक्तिमा कानून व्यवसायीको तर्फबाट कनिष्ठ कानून व्यवसायीको सिधा नियुक्तिले लामो समयदेखि न्यायसम्पादनमा समय बिताएका न्यायाधीशहरुको माथिल्लो अदालत र तहमा जाने बाटो बन्द मात्र होइन, अपमानसमेत भएको आवाज उठेको थियो जुन आवाज न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७५ मा त छताछुल्लैरूपमा बाहिर आयो ।

के हिम्मत गर्न सक्छाैं ?

न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता वा बिचौलियाबाट हुनसक्ने क्रियाकलापको प्रमुख कारकतत्व न्यायाधीश नियुक्ति नै हो । न्यायाधीश नियुक्तिको सिफारिस गर्ने निकाय न्यायपरिषद्ले कानूनले तोकेको मापदण्डभन्दा पनि मनोगत आधारमा गरेका सिफारिस नै विकृतिको कारण बनेको छ भनी प्रधानन्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको अध्ययन प्रतिवेदनमा उल्लेख भएको सन्दर्भमा कम्तिमा पनि २०७२ साललाई आधार मानी सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्ति हुनुहुने माननिय न्यायाधीशज्यूहरूले स्वेच्छिकरूपमा राजिनामा दिई स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय निर्माणको बाटो खोल्न तयार बनौ । न्यायाधीशको पुनर्नियुक्तिको बाटो खोलाैं । के तयार छौं ?

न्यायाधीश नियुक्ति र कर्मचारीको सरोकार

सर्वोच्च अदालतलगायत मातहत उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषय राजनीतिक नेतृत्व, कानून व्यवसायी र कानूनका जानकारहरुलाई जति चासोको विषय बनेको छ त्यति चासो र सरोकारको विषय न्याय, कानून र सरकारी वकिलतर्फका कर्मचारीलाई पनि छ तर, कर्मचारी पंक्ति आजसम्म निरिह छन् ।

सर्वोच्च अदालतमा त कर्मचारीबाट प्रवेश हुने मौका मिलेको छैन । उच्च अदालतको मुख्य न्यायाधीशमा एक जनाले मात्र प्रवेश पाउनु भएको विषयलाई गौरव मान्न पर्ने अवस्था छ । अझ आफूभन्दा हर क्षेत्रमा कनिष्ठ व्यक्तिभन्दा पनि कनिष्ठ बनेर नियुक्ति हुन पर्दाको पीडा कर्मचारीले पालन गर्नुपर्ने आचारण र अनुसासनको फलामे नियमले पोख्नसमेत सकेका हुँदैनन् । सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीश नियुक्ति गर्दा कर्मचारीको उचित प्रतिनिधित्व नभएको गुनासो कर्मचारी बृत्तमा छ जसलाई यसपटकको नियुक्तिमा सम्बोधन गरिने अपेक्षा गरिएको छ ।

उदाहरणका रूपमा लिने हो भने पनि सँगै स्नातक उपाधी हासिल गरेका दुई जना साथीहरु लोकसेवा आयोगको परिक्षामा सामेल हुनु भयो । जसमध्ये एक जना सफल भई निजामती तर्फ प्रवेश गर्नु भयो भने अर्का असफल साथी कानून व्यवसायतर्फ । निजामति सेवामा प्रवेश गरेको साथी विद्यालयको अध्ययनदेखि नै अब्वल हुनुहुन्थ्यो । उहाँले उपसचिव, सहसचिव खुला प्रतिष्पर्धामा निकाल्नु भयो । लामो समयको अनुभव र कार्यसम्पादन पछि लामो समय राजपत्राङ्कित विशिष्ठका पदहरुमा काम गर्नुभयो । संविधानले पनि सबै तहका अदालतका लागि उहाँलाई योग्य ठान्यो । अर्को असफल हुनुभएको साथी जो कानून व्यवसाय तिर लाग्नु भयो तर न्यायाधीश नियुक्ति गर्दा कानून व्यवसायी भन्ने साथीलाई नियुक्ति गरियो । न्यायाधीश नियुक्तिमा उहाँले कति मुद्दामा बहस, पैरवी गर्नुभयो, पेशाप्रति कति समर्पित र निरन्तरता रह्यो आवश्यकता परेन । तर त्यो कर्मचारीले पटक–पटक परिक्षामा सफलता हासिल गर्दा समेत र हर हिसाबले आफू अब्वल भएको पुष्टि गर्दा पनि न्यायाधीश नियुक्तिमा आफू योग्य भएको ठान्न पाएन । यो गम्भिर र पेचिलो विषय हो । यहाँनिर योग्यताको आधार र मूल्यांकनको विधि फरक पनि हुनसक्छ र एउटै व्यक्ति सधँै र सबै क्षेत्रमा सफल र विज्ञ नै हुन्छ भन्ने पनि होइन ।

(लेखक, सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् ।)

वि.सं.२०८० जेठ २२ सोमवार १३:५३ मा प्रकाशित

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...