काठमाडौं । राजनीतिक वृत्तमा पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यूँताउने कोणबाट चर्चा परिचर्चा सुरु हुन थालेको छ । विशेषतः माओवादी केन्द्रसहित चार दल मिलेर समाजवादी मोर्चा गठन गरेसँगै बहस त्यतातिर सोझ्याइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि नेकपा ब्यूँताउने बताउन थालेका छन् । नेताहरुले मोर्चा गठनको दिशा नेकपा ब्यूँताउनेतिर लक्षित भएको बताउन थालेका छन् ।
आइतबार नारायणविलास जोशीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेकपा ब्यूँताउने गरी पहल सुरु भइसकेको बताए । उनले समाजवादी मोर्चाभित्र पनि उक्त विषयमा सहमति बनेको बताए ।
“अहिले कमरेड माधवकुमार नेपाल, मलगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादवसमेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ, माधवजीले पनि र मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ”, प्रचण्डले भनेका छन् ।
प्रचण्डले जनमत कम्युनिष्ट हुने तर, नेतृत्व कम्युनिष्ट नगर्ने दुर्भाग्यपूर्णं अवस्था बनेको गुनासो गरे । जसलाई सच्याउन पनि मिल्नुको विकल्प नरहेको उनको भनाई छ । प्रचण्डले तत्कालिन नेकपा गठनमा देखिएका त्रुटिलाई सच्याएर अगाडि बढ्न अनिवार्य रहेको बताए ।
“त्यहाँ विचार, राजनीति, आचरण, संस्कृति र भावनामा कहाँ त्रुटि भयो ? के कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ”, उनले भनेका छन् ।
प्रचण्डको भनाईमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सही थापे । व्यवस्था परिवर्तन भइसकेको भन्दै अवस्था परिवर्तनका निम्ति कम्युनिष्टहरु एकजुट हुनुपर्ने बताए । कम्युनिष्टहरुलाई एक बनाउने नेतृत्व प्रचण्डबाट हुनुपर्ने उनको भनाई छ ।
“हामीले राजनीतिक क्रान्ति सम्पन्न गरेका छौं, अवस्था जनताको अवस्था परिवर्तन गर्ने सवाल छ, जुन कम्युनिष्टहरु मिलेर मात्रै सम्भव छ”, अध्यक्ष नेपालले भने, “कम्युनिष्टहरुलाई मिलाउने र देशलाई अग्रगमनतर्फ लैजाने यात्राको नेतृत्व प्रचण्डबाट हुनुपर्छ ।”
सत्तामुखी उद्देश्य तर, एकता बाध्यकारी
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिक रुपमा निकै गतिशिल देखिन्छन् । उनले आफू अनुकुल समय–समयमा नयाँ–नयाँ मुद्दाहरु उठाइरहेका हुन्छन् । समाजवादी मोर्चा गठनदेखि फेरि नेकपा ब्यूँताउने विषयसत्ता जोगाउने कोणबाट बढी आएको वामपन्थी विश्लेषक लोककृष्ण भट्टराई बताउँछन् ।
“संसदमा माओवादी हैसियत ३२ सिट हो, समाजवादी मोर्चा गठनसँगै प्रचण्डको पक्षमा ५४ सिट पुगेको छ, बाहिर पनि विप्लवहरुको एउटा शक्ति बन्यो”, भट्टराईले भनेका छन्, “मोर्चा गठन सत्तामुखी उद्देश्यबाट आएको देखिन्छ, तथापी वामपन्थीहरु एक नहुने भो सकिने अवस्था छ ।”
बाध्यकारीरुपमा फेरि नेकपा गठनको अवस्था भने बन्न थालेको भट्टराईको विश्लेषण छ । उनका अनुसार हालकै अवस्थामा कम्युनिष्टहरु आगामी चुनावसम्म जाँदा अवस्था निकै कमजोर हुन्छ ।
“अहिले जुन खालको परिस्थिति बनेको छ, यसले ठूलै सबक सिकाएको देखिन्छ, कम्युनिष्टहरु मिल्ने कि सकिने भन्ने अवस्था बनेको छ”, उनले भनेका छन्, “यदि नमिल्ने हो भने सकिने अवस्था भएको कारण पनि नाटकीय मिलन हुनसक्छ । प्रचण्ड र माधवले रियलाइजेसन गरिसकेका छन्, ओलीले पनि डकुमेन्टमै हामी कमजोर हुँदै छौं भनेका छन्, यसको अर्थ अब मिल्नुपर्छ भन्ने हो ।”
वि.सं.२०८० असार १७ आइतवार १३:२७ मा प्रकाशित






























