back
CTIZAN AD

दक्षिण एशियाकै नमुना लमजुङका घरबास किन सुनसान बन्दैछन् ?

वि.सं.२०८० असार १८ सोमवार

693 

shares

जनक श्रेष्ठ,लमजुङ । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् ।

वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक सुनसान बन्न थालेको घरबास सञ्चालकको भनाइ छ । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ तथा दक्षिण एशियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सय भन्दा बढी पर्यटक आउने गरे पनि बर्खायाम सुरु भएसँगै पर्यटकको सङ्ख्या शून्य जस्तै भएको छ ।

घलेगाउँ होमस्टेका व्यवस्थापक समितिका कार्यालय सचिव दीर्घ घलेले भन्नुभयो, “असार महिनाको सुरुवात भएदेखियता एक जना पनि पर्यटक आगमन भएको छैन । जिल्लाकै सबैभन्दा धेरै पर्यटक आगमन हुने यहाँ यतिबेला पर्यटकको मुख देख्न पनि रहर लाग्ने भएको छ ।” उनका अनुसार पर्यटक सत्कारमा फुर्सद नहुँने यहाँका घरबास सञ्चालन यतिबेला धान रोप्नमा व्यस्त हुन थालेका छन् ।

सहरदेखि होमस्टेसम्म आउने सडक गुणस्तरीय नहुँदा, बर्खायाममा बढी वर्षा हुने भएकाले यात्रा कठिन हुनुका साथै अन्य विभिन्न समस्याका कारण वर्षायाममा पर्यटकलाई सास्ती हुने भएकाले पर्यटक आवागमन घटेको समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । यहाँका होमस्टेमा असोजबाट मात्रै पर्यटकको आगमन हुन थाल्ने उनको भनाइ थियो ।

पर्यटक आगमन हुँदा राम्रो आम्दानी हुने गरे पनि पर्यटक नआउँदा यतिबेला जीविकोपार्जनमा समस्या हुन थालेको स्थानीय बताउँछन् । लमजुङमा विसं २०५७ देखि घलेगाउँ घरवास कार्यक्रम (होमस्टे) सुरु गरिएको थियो । यो जिल्लाकै पहिलो घरवास कार्यक्रम हो ।

समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण आदिवासी जनजातीमध्ये तमु (गुरुङ)को उद्मस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो घलेगाउँ । यहाँ ३२ दलित र ९३ गुरुङ परिवार गरी एक सय २५ घरधुरीका स्थानीय बसोबास गर्दछन् । यहाँ ४४ होमस्टे सञ्चालित छन् ।

तीन सयसम्म पर्यटक एक रातमा बास बस्न सक्ने व्यवस्था गरिएको समितिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । उनका अनुसार यहाँ दुई वटा होटल सञ्चालनमा रहेका छन् । “घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आ–आफ्ना कला, भेषभूषा, खानापान, तथा नृत्य प्रप्तुत गरी मनोरञ्जन प्रदान गरिन्छ”, उनले भने । उनका अनुसार यहाँका स्थानीय आफ्नो संस्कार, संस्कृति जोगाइँ राख्न जुटेका छन् ।

विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । यहाँबाट मनास्लु हिमाल, ङादीचुली (डा हर्क हिमाल), अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौँथो), माछापुच्छे« हिमाल, हिमालचुली, लमजुङ हिमाल र बुद्व हिमाल देख्न सकिन्छ । यहाँ घलेराजामध्येका अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिक राखिएको छ ।

यहाँ आउँने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउँने गर्दछन् । पर्यटकका लागि गुरूङ संस्कृति झल्किने गीत तथा नाँच प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिने समितिका कार्यालय सचिव दीर्घ घलेले बताए । उनका अनुसार यस गाउँमा पैदलयात्रा गर्दा करिब छ घण्टा लाग्दछ ।

काठमाडौंँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा पर्दछ घलेगाउँ ।

त्यस्तै लमजुङ दरबार नजिकै रहेको बेँसिसहर नगरपालिका–३ काउँलेपानी घरबास (होमस्टे)मा समेत पर्यटक आगमनमा निकै कम भएको छ । यहाँ दैनिक एक सय देखि दुई सयसम्म पर्यटक आउने गरेकामा वर्षायाम लागेपछि पर्यटक सङ्ख्यामा कमी आएको ग्रामीण काउले पानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

वर्षा लागेपछि दैनिक १०÷१५ जना पर्यटक मात्रै यहाँ आउने गरेका घरबास सञ्चालक कविन्द्र गुरुङले बताए । उनका अनुसार यहाँ २५ घरधुरी रहेका मध्ये १५ घरमा होमस्टे सञ्चालन गरिएका छन् । यहाँ नेवार, गुरुङ, भुजेललगायत विभिन्न समुदायको बसोवास रहेको छ ।

समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइमा रहेको काउँलेपानी होमस्टे सन् २०११ देखि सञ्चालन गरिएको थियो । यस होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो भने पर्यटन मन्त्रालयले सन् २०१६ मा नेपालको उत्कृष्ट होमस्टेका रुपमा छनौट गरेको थियो । सन् २०१६ मा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण मन्त्रालयले काउँलेपानीको अध्ययन गरी नेपालकै पहिलो वातावरणमैत्री होमस्टे घोषण गरेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

यहाँबाट यशोबम्हा शाहबंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–८ भुस्मे तामाङ होमस्टेमा पर्यटक सुनसान रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमराज तामाङले बताए । उनले भने, “बर्खा र बाटो कठिन भएकाले पर्यटक आगमन नहुँदा आम्दानी समेत हुनसकेको छैन ।”

 

वि.सं.२०८० असार १८ सोमवार १७:३२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...