काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तीको विषयमा विवादमा तानिएको छ । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ती प्रक्रियालाई लिएर विपक्षी दलहरु एमाले र राप्रपा अदालतमा जाने भएका छन् ।
संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्रीलाई नियुक्त गरेका थिए । दलहरुले बहुमत पु¥याउनका निम्ति सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेका थिए ।
एकातिर संविधानको धारा १६८ (२) बमोजिम यसअघि नै सरकार गठन भएको र अर्कोतिर, बहुमत पुर्याउनकै निम्ति सभामुखको समेत हस्ताक्षर गरिएपछि विवादमा तानिएको हो । एमालेले संविधान धारा र सभामुखको तटस्थतामाथि प्रश्न उठाएको छ ।
संविधानविद् भीमार्जुन आचार्य पनि मुख्यमन्त्री नियुक्ती गर्दा संवैधानिक दायरा नाघिएको बताउँछन् ।
उनले भनेका छन्, “सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन, यस्तो कार्य असंसदीय र असंवैधानिक छ, सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ, कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलना जन्य कार्य हो, यसरी सरकार गठन गर्नुभन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ ।”
वि.सं.२०८० असार २२ शुक्रवार १२:३६ मा प्रकाशित






























