तेजेन्द्र सापकोटा,गैडाकोट,नवलपुर
१
बाटो लागेको बटुवा, सम्बन्ध कति रहला र ।
बगरको प्यास मेट्न, नदी कति बहला र ।
घोच्नु, थिच्नु र कुच्नुको पीडा त सहेकै थिएं नि,
मुटुको चोट, हाड र छालाले कति सहला र ।।
२
मुटु बन्द हुंदै थियो, तिमीले चलाई दियौ ।
जगाएर फेरि बांच्ने, रहर पलाई दियौ ।
अन्तिमको आरती झै, बल्दै थिएं म त,
तेल थप्यौ, जिन्दगीको दियो जलाई दियौ ।।
३
मैले लेख्ने कलमको तिमी, मसि बनेर आयौ।
अक्षरका पहाडहरुमा तिमी,शशि बनेर आयौ।
हमेसा मेरो मुटुको हरेक धड्कनहरुमा खेल्दै,
भाव संग लठ्ठिएर तिमी, बेहोसी बनेर आयौ ।।
४
तारा जस्तै आकाशमा, उदाएर हेर ।
बतासले झै बादलुलाई, कुदाएर हेर ।
माथिबाट झर्ने तिमी, खडेरीको बर्षा,
फुलबारीको पुतली म, रुझाएर हेर ।।
५
सलाइको कांटी न हो, घर्से पछि सकिदो रहेछ ।
बादलको जिन्दगी न हो, बर्षे पछि सकिदो रहेछ ।
खोई कसरी भनुं, मेरो आफ्नै आयु कति छ भनेर ?
बलीको बोकाको जिन्दगी,पर्छे पछि सकिदो रहेछ ।।
वि.सं.२०८० असार ३० शनिवार ०८:४२ मा प्रकाशित






























