मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं
‘छोराको बिहे छ, तपाईं त जसरी पनि जन्ती जानैपर्छ है !’ छिमेकी सुन्दरले यसरी नै पटकपटक गरेको आग्रहलाई टार्न नसकेर जन्ती जान तयार भईयो । पूर्वतर्फ निकै टाढाको यात्रा थियोे । त्यसैले दुईवटा बस र एउटा कारमा गरी दुलाहा सहित करिव पचपन्न जना जति हामी बिहान सबेरै निस्कियौं ।
जन्तीमा दुईचारजना छिमेकी बाहेक अधिकांश दुलाहाका आफन्त र नातेदार नै थिए । हामी अघि बढ्दै गयौं । बिहान आठबजेतिर एउटा होटेलमा चियानास्ता गराउन बस रोकियो । ‘नास्ता अर्डर गर्नुप¥यो, तपाईंहरु चियासंगै के–के खाने’ सुन्दरले जन्तीलाई सोधे । एक त जन्ती त्यसमा पनि आफन्त नातेदार के चाहियो ! बसबाट ओर्लेर होटेलमा भएको सामानहरु माग्दै ईच्छा भोजन गर्न थाले । कसैले त चिया लगत्तै कोकफेन्टा समेत पिउन भ्याए भने कतिले दिउसोको लागि जोगाड समेत गरे । म जिल्ल परेर लखनौं लुट हेरिरहें । सुन्दरले असहज मान्दै रकम तिरे ।
‘अब त खाना खाने बेला भयो है, राम्रो होटेल हेरेर बस रोकौंझ नास्ता गरेको दुईघण्टा नै नबित्दै दुलाहाको फुपाजु कराए । केही पर बस रोकियो । यहाँ पनि जन्तीको चाला फेरिएन । माछामासु लगायत जे–जे पाईन्छ लिएर खान थाले । सुन्दर होटेलमा हिसाब गर्दै थिए, उनको सालो आएर ‘ज्यादै गर्मी छ भिनाजु, दिउसो सबैलाई प्यास लाग्न सक्छ’ भन्दै फ्रुटी र पानी पाँचपाँच दर्जन बसमा हाल्न लगायो । यसै मौकामा उसले ‘बिजुली पानी’ का केही बोतल पनि हाल्न भ्याएछ । सुन्दरले रुञ्चे हाँसो हाँस्दै रकम तिरे ।
यस्तै प्रकारले दिउसो खाजा खाने काम भयो । त्यसपछि पनि बाटोमा पटकपटक चियापान र साँझमा राम्रै नास्तापानी भयो । बेहुलीको घर आउन अब करिव दुईतीनघण्टाको बाटो बाँकी थियो । ‘भोक लाग्यो, भात खाने’ भन्दै सुन्दरको भतिजो करायो । धेरैले हो मा हो मिलाए । संगै सिटमा बसेको मैले सुन्दरको मुख हेरें । उनले लामो सुस्केरा हाल्दै मेरो कानमा साउती गर्दै भने ‘हेर्नुस् त, आफन्त र नातेदारका चाला ! कसरी ब्यवहार गर्दैछ होला भनेर सक्दो सहयोग गर्नु त परै जाओस्, कहिल्यै खान नपाएजस्तो गरी खानै मात्र परेको छ यिनलाई ! के गर्नु, नातागोता चिढाउन भएन ! आफ्नाको पहिचान यस्तै बेलामा हुने रहेछ !’
वि.सं.२०८० असार ३० शनिवार ०८:४१ मा प्रकाशित






























