मित्र ’उराठी’ गौतम
अमरपुर,गुल्मी, हाल–तिलोत्तमा –२, रुपन्देही
‘मान्छे पनि कस्ता कस्ता ? दाहसंस्कार गर्दा पनि नाचगान गर्न थाले । रमाईलो उत्सव मनाए जस्तै ।’ हालसालै समाचारमा आएको कुरालाई नमिठो मान्दै कोट्याए रमाकान्त बाजेले ।
चिया पसल अगाडिको चौतारोमा बिहान जुटेर चियागफ गर्ने दैनिकी चलिरहेको थियो, टोलका बुढापाकाहरुको ।
‘परम्परा, रिति रिवाज मान्छेले नै त बनाएका हुन् । फरक–फरक धर्म, फरक फरक समुदायले आ–आफ्नो अनुकूल बनाए । ती रिति रिवाज अर्को धर्म समुदायलाई पाच्य नहुन सक्छ । हिन्दुको जन्म, बिवाह, मृत्यु संस्कार इस्लाम, क्रिस्चियनसँग मिल्दैन । हिन्दु भित्रै पनि भूगोल, समुदाय अनुसार केही न केही फरक भेटिन्छ ।’, चिया सुरुप्प पार्दै भागिरथले जवाफ दिए ।
‘त्यही त मान्छे मर्दा कसैले बाजागाजा बजाउँदै दाहसंस्कार गर्छन् । कसैले गाड्छन् ,कसैले जलाउँछन् । अझ हिमाली भेगमा त कुन जातिले हो, लासलाई टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउँछन् रे । ती पनि त मान्छेले नै बनाएका चलन त हुन् । त्यसैले कुनै धर्म, समुदायको रिति रिवाजलाई अर्को धर्म, समुदायले घृणा गर्ने, होच्याउने गर्नु हुँदैन ।’,भागिरथको भनाइमा सहि थाप्दै गङ्गारामले कुरा थपे ।
चिया पसलमा भाँडा धुने भुण्टेले बुढापाकाका गफ माथि उटुङ्ग्याहा उटुङ्ग्याहा कुरा थप्थ्यो ।
उनीहरुले पनि भुण्टेको उटुङ्ग्याइमा रमाइलो मान्थे र हाँसिदिन्थे । त्यसैले भुण्टे अझै हौसिन्थ्यो ।
‘गाउँका युवाहरु सब विदेशिए । मर्दापर्दा मलामी जुट्न पनि गाह्रो हुन थाल्यो ।’, अब के उट्पटाङ्ग बोल्न थाल्यो भनि सबैको ध्यान भुण्टे तर्फ खिचियो ।
‘मान्छे मर्दा दाजुभाइ, छरछिमेक, इष्टमित्रहरु जुट्ने । अनि मृतकलाई काट्कुट गरि भुटुवा खाने चलन चलाएको भए कति जाति हुन्थ्यो,हैन् त बाजे ?’, भुण्टे प्याच्च बोल्यो ।
वि.सं.२०८० साउन ६ शनिवार ०७:४३ मा प्रकाशित






























