काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको अनलाइनबाट लाइभ गर्ने भएको छ ।
सोमबार बिहान केन्द्रीय समिति बैठकको तयारी स्वरुप बसेको माओवादी केन्द्रका पदाधिकारीहरुको बैठकले साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले पहिलोपटक पार्टी केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्न लागिएको जानकारी दिएका छन् । सचिव शर्माका अनुसार यसपटक बैठकमा उपस्थित सबैलाई बोल्न दिइने र उनीहरुले बोलेका कुरा आम जनमानसमा पुर्याउनका लागि प्रत्यक्ष प्रशारण गर्न लागिएको हो ।
२९९ केन्द्रीय सदस्य रहेको माओवादी केन्द्रले पार्टीको इतिहासमा पहिलोपटक केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।
स्मरण रहोस्, केहीदिन अघि सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पनि प्रत्यक्ष प्रशारण गरिएको थियो । सो पार्टीका सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव ल्याएका थिए ।
वि.सं.२०८० साउन १५ सोमवार १२:४९ मा प्रकाशित






























